Nepali Readings / Bhanubhakta poems / Badhū-śikṣā
Badhu Shiksha (वधूशिक्षा)वधूशिक्षा
Domestic Realism and 19th-Century Moral Colloquy
| Work & Genre | Didactic Domestic Epistle & Social Satire (Nītikāvya) |
|---|---|
| Author & Date | Adikavi Bhanubhakta Acharya · Composed c. 1862 CE (1919 BS) · Published 1887 CE (1944 BS) by Motiram Bhatta |
| Classical Prosody | Śārdūlavikrīḍita Meter (19-syllable classical Sanskrit meter) |
| Setting & Occasion | Written as an epistolary verse to his friend Tarapati Joshi in Tanahun after spending a sleepless night amidst domestic discord |
| Sociological Dialectic | Juxtaposes the rigid patriarchal orthodoxy of the 19th-century feudal era against Bhanubhakta's sharp, realistic ethnographic observation of rural agrarian domestic life |
| Literary Legacy | A foundational document of colloquial social observation in Nepali, transitioning the language from Sanskritized court verse into the living cadences of the household. |
Composed circa 1862 CE (1919 BS) and preserved for posterity through the pioneering printing initiatives of Yuvakavi Motiram Bhatta in Banaras in 1887, Bhanubhakta Acharya's Badhu Shiksha (Badhū-śikṣā / वधूशिक्षा, "Instruction to the Bride") occupies a unique, provocative position in nineteenth-century Nepali literature. Rather than adopting the mythological grandiosity of his landmark Ramayana, Bhanubhakta constructed a frank, rhythmically agile epistolary dialogue addressed to his dear friend Tarapati Joshi, whose chaotic, quarrelsome homestead in Tanahun had robbed the visiting poet of his evening sleep.
Opening with three candid introductory stanzas describing the sleepless traveler jarred by kitchen arguments and grinding stones at midnight, the poem unfolds across thirty-three precisely metered Śārdūlavikrīḍita verses detailing the morning-to-night duties expected of an ideal daughter-in-law. While modern feminist criticism rightfully interrogates its unyielding patriarchal assumptions—prescribing submissive obedience, early rising, constant labor, and cheerful modesty—the work remains an indispensable sociological mirror. Beneath its moralizing veneer lies Bhanubhakta's uncanny ethnographic ear for the colloquial idioms, domestic tensions, and daily rhythms of a rural Himalayan extended family.
By articulating moral instruction through crisp vernacular verse rather than inaccessible Sanskrit treatises, Bhanubhakta demystified domestic ethics for ordinary householders, leaving behind a work that continues to ignite vigorous debate regarding feudal domestic structures, female agency, and the evolution of Nepali social consciousness.
घरायसी यथार्थ र उन्नाइसौँ शताब्दीको नीति-संवाद
| काव्य-विधा | उपदेशात्मक पारिवारिक नीति-काव्य (पद्यमय सामाजिक पत्र) |
|---|---|
| कवि तथा रचनाकाल | आदिकवि भानुभक्त आचार्य · रचना वि.सं. १९१९ (ई.सं. १८६२) · प्रकाशन वि.सं. १९४४ (ई.सं. १८८७, मोतीराम भट्टद्वारा) |
| छन्द-योजना | शार्दूलविक्रीडित छन्द (१९ अक्षरको शास्त्रीय संस्कृत छन्द) |
| पृष्ठभूमि | तनहुँका मित्र तारापति जोशीको घरमा बास बस्दा बुहारीहरूको कलहले रातभर सुत्न नपाएपछि लेखिएको काव्यिक उपदेश |
| सामाजिक यथार्थ | उन्नाइसौँ शताब्दीको रूढ पितृसत्तात्मक संरचना र ग्रामीण पहाडी संयुक्त परिवारभित्रको यथार्थ जीवन-शैलीको जीवन्त चित्रण |
| साहित्यिक महत्त्व | पारिवारिक आचारसंहितालाई सरल, स्वाभाविक र जनजिब्रोको नेपाली भाषामा ढालेर प्रस्तुत गरिएको पहिलो मौलिक कृति। |
वि.सं. १९१९ (ई.सं. १८६२) तिर रचित र पछि वि.सं. १९४४ मा युवाकवि मोतीराम भट्टद्वारा बनारसमा प्रकाशित आदिकवि भानुभक्त आचार्यको 'वधूशिक्षा' उन्नाइसौँ शताब्दीको नेपाली समाज र पारिवारिक जीवनको एउटा अत्यन्तै चर्चित, यथार्थपरक र बहसयोग्य खण्डकाव्य हो। आफ्नो अमर रामायणको पौराणिक औदात्यभन्दा पृथक्, भानुभक्तले आफ्ना आत्मीय मित्र तारापति जोशीको घरमा बास बस्दा बुहारीहरूको झगडाले रातभर निद्रा नपरेपछि प्रत्यक्ष देखे-सुनेको भोगाइलाई आधार बनाएर यो काव्य रचना गरेका थिए।
सुरुका तीन श्लोकमा साथीको घरको पारिवारिक कलह र आफ्नो अनिँदो रातको रोचक विवरण दिएपछि, कविले बाँकी श्लोकहरूमा बुहारीले बिहान उठेदेखि राति नसुतुन्जेलसम्म पालन गर्नुपर्ने घरायसी मर्यादा र कर्तव्यको सूची पेस गरेका छन्। आजको आधुनिक नारीवादी दृष्टिकोणबाट हेर्दा यसमा तत्कालीन पितृसत्तात्मक समाजको कठोर घेरा, आज्ञाकारिता र श्रमको असमान बोझ देखिनु स्वाभाविक भए पनि, तत्कालीन ग्रामीण समाजको सजीव बोलीचाली र पारिवारिक संरचना बुझ्न यो कृति एउटा अमूल्य समाजशास्त्रीय दस्तावेज हो।
संस्कृतका जटिल स्मृति-ग्रन्थहरूमा सीमित रहेको नीति-चेतनालाई सर्वसाधारणले बुझ्ने सरल शार्दूलविक्रीडित छन्दमा उतारेर भानुभक्तले नेपाली भाषालाई घरायसी परिवेश र व्यावहारिक जीवनको स्वाभाविक माध्यम बनाइदिएका छन्।
The letterपत्र
The lines below are his. He died in 1868, and these verses were in print well before 1931, so the words are public. The spelling is the old printing. The sentences above are this shelf's.
एक थोक भन्छु न मान्नु दुःख हे मित्र तारापति ।
तिम्रा ई जति छन् जहानहरू ता जुझ्न्या रह्या छन् अति ।।
सून्याँ दन्तबझान आज घरको कर्कर् गर्याको जसै ।
भर्रात् जाग्रान झैं भयो मकन ता लागेन आँखा कसै ।।१।।
धन् इज्जत् र घरबार देख्छु बढिया छैनन् कुनै चीज् कमी ।
बूहारी यदि कर्कशा हुन गया क्या घर् गरौला तिमी ।।
साह्रै झोक उठयो मलाइ र बधूशिक्षा बनाया पनी ।
यस्ले पत्नि, बुहारि, छोरीहरूको तालिम् गरौला भनी ।।२।।
हुन त म अतिथी हूँ यस् बिनूँ के छ खाँचो ।
तर पनि त म भन्छु मित्र ह्वौ जानि सांँचो ।।
घर चतुरञि गर्छन् बुद्धिमान्ले अगाडि ।
बखत चुकि दिंदामा हुन्छ काहांँ पछाडि ।।३।।
The listसूची
The list is numbered again from one.
प्रातःकाल महाँ उठेर पहिले ध्यान् ईश्वरैको गरून् ।
सो ईश्वर पति हुन् भनेर पछि त्यो भक्ती पतीमा धरून् ।।
भक्तीले पति ईश्वरै भनि बुझुन् पाऊ–तलैमा परून् ।
पूजा हो पतिको भनेर घरका काम्मा अगाडि सरून् ।।१।।
झट्पट् स्नान गरेर शुद्ध जलले सब् देह निर्मल् गरी ।
जस्तो पुग्दछ सोहि माफिक असल् धोती कटीमा धरी ।।
सासूका चरण विन्द युगमा पूजेर पाऊ परून् ।
मैले काम गरुँ क्या अह्राउनु हवस् यो ताहिं बिन्ती गरून् ।।२।।
मान्छे छन् घरका सबै जति जना तिन्लाई ढोग् भेट् गरी ।
चाकरलाइ अह्राउनू खुशि हुँदै मीठा वचन्ले गरी ।।
माटो पानी खराउ ओटन रुमाल् धोती दतीउन् धरी ।
स्नान् गन्र्या अखढा जहाँ छ तहीं गै राखुन् तयारी गरी ।।३।।
पूजाको सरजाम् गरून् पति पूजा गर्छन् प्रभूको भनी ।
पूजामा खतडा कदापि नपरोस् कुनै कुराले पनी ।।
कस्तै अल्मलमा रहोस् घरमहाँ आया जगाया अलक् ।
जोगी जञ्गमले भन्या मुठी दिनू ढीलो नगर्नू पलक् ।।४।।
घर्सब् झारि बढारि नित्य त्यसले लिप्तै र पोत्तै रहोस् ।
चाकर् सब् थलिया गया कहीं, भन्या आफै तयारी रहोस् ।।
स्वामीका चरणविन्द युगको भक्तिले. पान गरून् ।
निर्मल् देह गराउनकन उ जल् केही शरीरमा छरून् ।।५।।
जो इच्छा पतिको छ त्यो बुझि उसै माफिक् सबै काम गरून् ।
जुन स्थान हो चिजको उही लगि उ चिज् राख्न्या स्वभाव् पो धरून् ।।
स्त्रीको खालि निघार् कदापी नरहोस् खाली निधार् भै जति ।
गर्छन् कर्म फलै हुँदैन तिनका टीको लगाया जती ।।६।।
तस्मात् नित्य टिका लगाई पहिले धन्ँधा पछाडी गरून् ।
पूजाको सरजाम् तयार् गरि सकी भान्छा विषे मन् धरून् ।।
भान्छाको सरजाम चाकर गरून् भाँडा सफाई गरी ।
खाना चीज भण्डारमा पसि झिकुन् आफै अगाडी सरी ।।७।।
रोगी बालक बृद्ध कोहि घरमा हुन्छन् तिन्को पनि ।
धत् जानीकन तम्तयार चिज गरून् खान्या छ यस्तो भनी ।।
यस्ता रीत् सित चीज् वनाइ बढिया सासू–ससूरा–पति ।
लाई ख्वाइ सकेर फेरि घरका खाउन् जहान् छन् जति ।।८।।
ख्वाई प्याइ सकेर सर्ब परिवार्ले खाइ सक्छन् जर्सै ।
चूल्हा चौकी लिपाइ जल्दि ति जुठा भाँडा मझाउन् तसै ।।
जो चीज बस्तु भन्डार देखि अघि जो झीकेर ल्याई थिइन् ।
सो संझेर तुरुन्त सोहि थलमा ती बस्तु राखी दिउन् ।।९।।
अल्सी दूर गरेर नारिहरुले थान्को र मान्को गरी ।
काम्धाम्मा परिवार लायर विचार् गर्दै रहुन् दिन् भरी ।।
धागा बत्ति समेत काति टपरी दूना बोहोता पनी ।
सिन्का साफ चिरेर राखुन् अनी चाहिन्छ काममा भनी ।।१०।।
पूजा ब्रतादिहरुका जति तीथि पर्दछन् ।
सम्झे्.र गर्नु नभुलीकन पाप हर्दछन् ।।
ठूलो ब्रतै त पनि सेवन गर्नलाई ।
क्यै छैन फेरि अरु निश्चय नारिलाई ।।११।।
रोगी बालक बृद्ध सासु ससुरा जेठाजु देवर् पनि ।
फूपू सासु अमाजु नन्द जति छन् खान्छन् इ खाजा जति ।।
सब्को हित् घत जानि नित्य दिनमा खाजा बनाई दिउन् ।
यस् रीत्ले अति खुश् बनाइ परिवार सब्लाई हात्मा लिउन् ।।१२।।
सौताको रिस गर्नु पाप छ बहुत् एकै दुबैका पति ।
मर्दामा पनि जानुपर्छ जसले मीलेर सङ्गै सती ।।
यस्तो जानि नमानि केहि मनमा मीलून् बहूतैै गरी ।
टाल्टुल गर्नु फुट्यो टुट्यो घर भन्या सिप्लाई जाहेर् गरी ।।१३।।
अर्काको घरमा नजानु कहिल्यै आफ्ना घरैमा बसी ।
जे हूनू सब चीज जती छ घरमा कूना र कानी पसी ।।
पर्छन् श्राद्ध दशै तिहार अरु चाड् चाहिन्छ तिन्मा जती ।
ती चिज् सम्झि अगाडी संग्रह गरोस् यस्मा नचूकोस् रती ।।१४।।
मान्या जन् कन मान्नु जान्नु घरको ठग्को ठगाञी पनी ।
सब् सासूसित भन्न जानु उ गरून् यस्को सजाञी भनी ।।
यस्ता रीत् सित् सब् गरेर बशमा राखोस् सबैमा दया ।
तिन्को याद तुरुन्त गर्नु जन जो भोका र नाङ्गा भया ।।१५।।
पहुना जति आउँछन् घरमहाँ दर्जा छ तिन्को जति ।
सो जानेर उसै बमोजिम गरोस् मज्र्याद् न चूकोस् रति ।।
पाउन् पापि कठोर चोरहरुले सोही बमोजिम् जवाफ् ।
राखोस् इष्ट कुटुम्ब मित्रहरुमा अमृत् सरीको रवाफ् ।।१६।।
साँचो बोल्नु नबोल्नु बात कहिल्यै झुटो भन्याको रति ।
आखिर मर्नु छ पाउनू छ उति फल् यहाँ गर्याको जति ।।
यस्तो ज्ञान् मनमा लिईकन रहुन्. सासू ससूरा पति ।
जे भन्छन् उहि गर्नु छैन अरु ता संसार तन्र्या गति ।।१७।।
भन्छन् शास्त्र पति र सासु ससुरा जेठाज्यु मान्नू भनी ।
भन्छन् ता पनि जो पति छ उसरी हूँदैन कोही पनी ।।
दृष्टान्तै पनि मिल्छ सासु ससुरा जेठाज्यु बित्ता सती ।
को् जान्छन् पति पो वित्या पनि भन्या जानू छ संगै सती ।।१८।।
हाँस्नू छैन कदापि नारिहरुले बेश्या हुने हाँस्तछन् ।
बेश्या लौ नहउन् तथापि घरको काम् ती सबै नास्तछन् ।।
एक्लै हाँस्न हूँदैन कोहि नभई अर्को सँगी भो जसै ।
हाँस्तैमा दिन जान्छ एहि रितले सब् काम बित्छन् तसै ।।१९।।
मानिस्को त बताउँ क्या अब विचार पक्षी पशूको पनी ।
पाल्याको छ भन्या तुरुन्त बुझ्नू क्या आज खायो भनी ।।
जस्सै भो कसिंगर् बढार्नु घर भर् काहीं नराखोस् रती ।
स्त्रीले जान्नु बिचार राखि मनमा एस्तो बताऊँ कती ।।२०।।
खान्या चीज् जति छन् सबै नजरले हेरेर ढाक्छोप् गरून् ।
जो चीज हुन्छ सुकाउन्या तिनकनै ल्याएर घाम्मा धरून् ।।
खान्या चीज कुहेर फाल्न नपरोस् दीनू कि खानू बरू ।
एती जान्नु अवश्य धेर् अब बखान् कुन् कुन् कुराको गरूँ ।।२१।।
खान्या चीज नहेरि केहि नकुहुन् सब् पैह्रन्या चीज पनी ।
सप्पै याद रहोस् सदा मन महाँ यो चीज् छ यहाँ भनी ।।
चीज् ता छन् घरमा तथापि मनमा छैनन् त भै क्या भयो ।
आखिर् चीज् घरमा भई बखतको काम सब् बिती गयो ।।२२।।
जो चीज् छन् घरमा हिरा तल पिह्रा सब् चीज् मनैमा रहुन् ।
जो खोज्छन् पतिले उ चीज् उहि बखत् ल्याएर चाँडो दिउन् ।।
खोज्दामा छन ता थियो तर कता राख्याँ हरायो भनी ।
भन्नू यो पति थ्यैं पर्यो पनि भन्या मानोस् मरे झै अनी ।।२३।।
पूजाको सरजाम जति जति थोक् चाहिन्छ सो सब् गरी ।
साँझमा बत्ति जलाउनू अति ठुला पानस् विषे तेल् धरी ।।
खान्या चीज बनाइ खान दिनु जो खान्छन् परीवारले ।
जुन् चीज् राख्नु भँडार पर्छ नभुली सब् राखनु संभारले ।।२४।।
दिनदिन घरमा जो पाहुना बस्न आया ।
तिनकन नखुवाई आफुले क्यै नखाया ।।
गृहिणी भइ रह्याको यो ठुलो धर्म जान्नु ।
विहक सकि दियाको अन्न भन्या त ठान्नु ।।२५।।
काम्का खातिर जति चीज घर्का दिन्मा झिक्याका थिया ।
रात्रीमा त उ काम् हुुँदैन सब चीज् थन्क्याइ राखी दिया ।।
सम्झी कत्ति न मानि अल्सि सब चीज् थन्क्याइ ताल्चा पनी ।
लाउन् चोर चकार डाँकुहरुले देख्नै नपनउन् भनी ।।२६।।
छिनि सकि सब धन्दा सासुको पाउ मिच्दी ।
उँघिकन विखबर् भै पाउ मिच्दै त ढल्दी ।।
टहल गरि टहल्ने सासुलाई रिझाई ।
पतिसित तब जावोस् स्त्री टहल् गर्नलाई ।।२७।।
प्राणका नाथ पतिका अगाडी गइ जो फर्माउँछन् सो गरोस् ।
भन्छन् ल्यान तमाखु खान्छु भनि ता चाँडै तमाखु भरोस् ।।
किस्मिस् दाख बदाम मिस्रि नरिवल् जो चिज छ सो सो दिई ।
पाऊ मिच्न तयार भै अघि सरोस् तेल्को कटौरा लिई ।।२८।।
आज्ञा माफिक पाउहरुमा मर्दन बहूतै गरी ।
पाऊमा शिर राखि सब् तहिं भनोस् जो काम गरी दिन् भरी ।।
यस्तो भो यसरी गर्याँ यति गर्याँ गन्र्या छु यो यो पनी ।
भन्न्या काम कुरो भनोस् पति पनी ई बात सूनुन् भनी ।।२९।।
जति गरि दिनमा काम् सो सबै विन्ति गर्दी ।
मधुर बचन बोल्दी स्वामिको चित्त हर्दी ।।
पतिकन यस रित्ले बातले खुस बनाओस् ।
जब त पति निधाउन् काखमा त्यो निधाओस् ।।३०।।
यति सब बधुशिक्षाका सिलोक् जो बनाञाँ ।
पढीलिनु सबले नारीको हित् जनाञाँ ।।
यहि रितसित जो स्त्री नित्य सब् काम गर्छन् ।
उभयकुल सँगै ली ती सहज् पार तर्छन् ।३१।।
स्त्रीको धर्म पतीमती पनि मन्र्या बखतको गति ।
बाचुञ्जेल सुख भोग पनि बुझि लिंदा को दिन्छ त्यसले जति ।।
स्त्रीको धर्म पति जती त अरुथोक देख्दैन मन्ले रति ।
यसलोकमा परलोकमा सुख दिन्या सो हेर जान्छ सती ।।३२।।
स्त्रीको धर्म पतिब्रता अति ठुलो जो गर्छ भक्तिले ।
आफ्ना कुल सब तारि पितृहरूको कुल तार्छन् शक्तिले ।।
स्त्रीको जन्म भयो भन्या त पतिको सेवा छ साह्रै ठुली ।
जो सेवा त गरी अनेक् अरु गरोस् साँचो कुरामा भूली ।।३३।।