Nepali Readings / Lekhnath Paudyal / Tarun Tapasi

Tarun Tapasi (तरुण तपसी)तरुण तपसी

The Ancient Banyan Tree and the Modern Meditative Epic

Work & GenreModern Meditative Epic (Navya-Kāvya)
Author & DateKaviraj Lekhnath Paudyal · Published 1953 CE (2010 BS) by Sajha Prakashan
Classical ProsodyŚikhariṇī Meter across 19 expansive cantos (17 syllables per line, prized for lyrical grace)
Philosophical ProtagonistA solitary, ancient Banyan tree (Vaṭa-vṛkṣa) standing upon a rural resting terrace (Chautārī), personified as an ageless, compassionate ascetic ("The Young Hermit")
Metaphysical CoreWitnessing centuries of human vanity, political upheaval, environmental exploitation, and existential suffering through detached Vedantic contemplation
Pinnacle of MasteryThe crowning magnum opus of Lekhnath Paudyal's mature career, fusing classical Indian aesthetics with modern ecological and existential philosophy.
Themes: #TarunTapasi #LekhnathPaudyal #ShikhariniMeter #NavyaKavya #BanyanTreeAscetic #EcologicalPhilosophy

Published in 1953 CE (2010 BS) by Sajha Prakashan toward the twilight of his illustrious life, Lekhnath Paudyal's Tarun Tapasi (Taruṇa Tapasī / तरुण तपसी, "The Young Ascetic") stands as the crowning intellectual and artistic summit of his poetic career. Designated by Paudyal himself as a navya-kāvya ("a new kind of epic"), the work broke decisively with classical biographical conventions: rather than narrating the military exploits of kings or the mythical feats of gods, Paudyal chose as his epic protagonist a majestic, centuries-old Banyan tree (*Vaṭa-vṛkṣa*) standing beside a lonely riverbank travelers' terrace (*Chautārī*).

Composed across nineteen expansive cantos in the fluid, musically undulating seventeen-syllable Śikhariṇī meter, the narrative opens with the poet himself sitting in evening contemplation beneath the arbor following the bereavement of his wife. As the twilight deepens, the spirit of the ancient tree addresses the poet, recounting its long odyssey from a fragile sapling battling storms, voracious insects, grazing herds, and the unthinking axes of passersby into a towering sanctuary of shade, refuge, and stoic wisdom.

From its rooted vantage point, the Banyan has observed the tragic vanity of human history: weary travelers resting under its boughs to boast of transient conquests, schemers plotting treachery, lovers trading vows, and tyrants falling into dust. Imbued with profound Vedantic equanimity (*Vairāgya*) and an early prophetic ecological consciousness, Tarun Tapasi elevates the natural world into a cosmic moral teacher, leaving an indelible philosophical legacy at the heart of modern Nepali literature.

वरवृक्षको मौन तपस्या र नव्य-काव्यको उद्घोष

काव्य-विधादार्शनिक महाकाव्य / नव्य-काव्य (प्रकृति र मानव जीवनको महा-समीक्षा)
कवि तथा रचनाकालकविशिरोमणि लेखनाथ पौड्याल · वि.सं. २०१० (ई.सं. १९५३, साझा प्रकाशन)
छन्द-योजनाशिखरिणी छन्द (१९ सर्गसम्म निरन्तर प्रवाहित १७ अक्षरको सुमधुर शास्त्रीय छन्द)
काव्य-नायकएउटा एकान्त चौतारीमा उभिएको विशाल वरको रूख (वटवृक्ष), जसलाई कविले अजर-अमर 'तरुण तपसी' का रूपमा उभ्याएका छन्
दार्शनिक चेतनासंसारको क्षणभङ्गुरता, मानिसको स्वार्थ, राजनीतिक उथलपुथल र प्रकृतिको निःस्वार्थ सेवा-भावको वेदान्ती चिन्तन
साहित्यिक उचाइकविशिरोमणि लेखनाथ पौड्यालको जीवन-साधनाको सर्वोत्कृष्ट कृति, जसले शास्त्रीय मर्यादा र आधुनिक पारिस्थितिक चेतनाको समन्वय गर्‍यो।
मूल भाव: #तरुणतपसी #लेखनाथपौड्याल #शिखरिणीछन्द #नव्यकाव्य #चौतारीकोवर #पर्यावरणीयदर्शन

वि.सं. २०१० (ई.सं. १९५३) मा साझा प्रकाशनद्वारा प्रकाशित कविशिरोमणि लेखनाथ पौड्यालको 'तरुण तपसी' उहाँको सिङ्गो जीवन-चिन्तनको सर्वोत्कृष्ट महाकाव्यिक शिखर हो। कवि स्वयंले यसलाई 'नव्य-काव्य' को संज्ञा दिनुभएको छ, किनकि यसले कुनै राजा, योद्धा वा पौराणिक भगवान्‌लाई नायक नबनाई, नदी किनारको एकान्त चौतारीमा उभिएर युगौँदेखि संसारको रमिता हेरिरहेको एउटा वृद्ध वरको रूखलाई नै मुख्य पात्र बनाएर नेपाली साहित्यमा अभूतपूर्व क्रान्ति गर्‍यो।

१९ सर्गमा फैलिएको यो विशाल काव्य १७ अक्षरको तरङ्गित 'शिखरिणी' छन्दमा उनिएको छ। पत्नी-वियोगको शोकमा डुबेका कवि साँझपख चौतारीको शीतल छहारीमा पुगेर बस्दा, त्यो वरको रूखले एक मौन साधक ('तरुण तपसी') बनेर आफ्नो जीवन-यात्रा सुनाउन थाल्छ। आँधीहुरी, कीरा-फट्याङ्ग्रा, गाईवस्तुको चरन र मानिसको बन्चरोसँग लड्दै एउटा सानो बिरुवाबाट विशाल छहारी बनेको त्यो वृक्षले आफूमुनि बस्ने हजारौँ बटुवाहरूको स्वार्थ, अहङ्कार, सुख-दुःख र षड्यन्त्रलाई नजिकबाट नियालेको हुन्छ।

मानव जातिको क्षणिक अहङ्कार र प्रकृतिको उदार परोपकारी धर्मबीचको विशाल अन्तरलाई देखाउँदै, 'तरुण तपसी' ले गहिरो वेदान्ती वैराग्य र आधुनिक वातावरणीय संवेदनशीलतालाई एउटै सूत्रमा बाँधेर नेपाली साहित्यलाई एक अमर दार्शनिक निधि दिएको छ।

The versesश्लोकहरू

Canto 1 Canto 2 Canto 3 Canto 4 Canto 5 Canto 6 Canto 7 Canto 8 Canto 9 Canto 10 Canto 11 Canto 12 Canto 13 Canto 14 Canto 15 Canto 16 Canto 17 Canto 18 Canto 19

सर्ग 1 सर्ग 2 सर्ग 3 सर्ग 4 सर्ग 5 सर्ग 6 सर्ग 7 सर्ग 8 सर्ग 9 सर्ग 10 सर्ग 11 सर्ग 12 सर्ग 13 सर्ग 14 सर्ग 15 सर्ग 16 सर्ग 17 सर्ग 18 सर्ग 19

Canto 1सर्ग 1

रसीलो वर्षाको समय, दिन लम्बा, दिनकर
थिये क्यै ढल्केका गगनतलमा पश्चिमतिर।
त्यसै बेला घुम्दै विजन पथको पादपमनि
पुगे कोही यौटा कविवर बिसाऊँ अब भनी।।1।।

मजाको चौतारी, वरपर सबै शून्य विजन
निकै टाढा पर्थे भवन, वन, वस्ती, उपवन।
बहन्थिन् सामुन्ने कलकल नदी पुण्यसलिला
अनेकौं देखिन्थे तटनिकटमा सुन्दर शिला।।2।।

शुक्यो बस्ता बस्तै सकल पसिना सर्र उनको
फुक्यो सुस्तै भित्री सरस कविता प्रेम मनको।
झिकी सादा कापी, कलम अब लेखूँ म कविता
भनी ती टोलाये, तल तल चले देव सविता।।3।।

थियो आलो कान्ताजनविरहको चोट मनमा
फिका ठान्थे सारा विषय, तिनि घुम्थे विजनमा।
तपस्याको लिन्थे लहड, तपकै वर्णनतिर
झुकाये त्यो प्यारो कलम, दगुर्यो दूर नजर।।4।।

तपस्वी कस्तो हो? कठिन तपको तत्त्व कुन हो?
भनी गम्दा गम्दै दिनकर, त्यसै कुन्िन किन हो?
गये सुस्तै सुस्तै मलिन भइ खस्तै जलधिमा
पर्यो सारा पृथ्वीतल मलिनिमाको परिधिमा।।5।।

कसी तेर्छो चिल्लो घनपटलको नील कबरी
धरी उस्ता रातो चहक मसिनू चादर सरी।
चलीहाली सन्ध्यारमणि सबकै रङ्गरसमा
डुबी खेल्दै खेल्दै मधुर छवि छर्दै निमिषमा।।6।।

फिँजी मैलो झाँक्रो मलिना तमको व्याकुल बनी
बडो चर्को गर्दै हुँचिलरवको क्रन्दन पनि।
कुनै काली आली विकल विंधवातुल्य रजनी
लडी छर्दै तारामय चहकिला भूषण पनि।।7।।

समेटी ताराको चहक सब एकै पटकमा
लपेटी त्यो सारा अति निविड मालिन्यपटमा।
घुस्यो चालो चालो विकटतम कालो घनघटा
जुटाई चौतर्फी भुवनभरमा तस्करछटा।।8।।

न कोही बाँकी भो वन, नद, नदी, शैल शिखर
न ता झुप्रो, छाप्रो, शहर घर वा वस्ति बगर।
जहाँ हेर्यो सम्मै, भुवन सब भो गाजलमय
खडा भैगो मानू विकट भय वा विश्वविलय।।9।।

उनी बस्ता बस्तै विरहवश त्यस्तो रुखमनि
फुकाएको कापी, कलम, मसिदानीतक पनि।
गरीहाल्यो कालो तरुण तमले चट्ट चटनी
कटारी झैं लाग्यो कविकन कठै कालचटनी।।10।।

मुटू धड्क्यो ज्यादा, पयर हुन थाले लुटुपुटु
टुट्यो चल्ने शक्ति, स्मरण भयले भो गुटुमुटु।
नदेख्नाले अर्को गतिविधि कुनै त्यो रुखमनि
लडे चौतारीमा कवि ऽ:शरण ल्यौ शङ्करऽ: भनी।।11।।

कडा त्यो ढुङ्गाको शयन, उसमा फेद रुखको
सिह्रानी, के पर्थ्यो झटपट कठै नीद सुखको।
परेको पाखामा अति विकल माछोमय बनी
बिताये वा काटे छटपट गरी कष्टरजनी।।12।।

हवा चल्दैआयो सिरिसिरि पछिल्लो पहरमा
बजायो तन्द्राले मधुर मुरली मस्त सुरमा।
झकाई त्यै वेला अगम दहराऽऽकाशबिचमा
पुगेछन् ती भित्री अमरपदवीको नगिचमा।।13।।

हरायो कान्ताको विरह, तपको कौतुक गयो
अकस्मात्, त्यो बाधा विकल मुटुको दूर धपियो।
बिचैमा भेट्टाये मधुर उनले दिव्य सुषमा
डुबे ती चुर्लुम्मै निमिषभर तत्काल उसमा।।14।।

न प्यारो चौतारी, न शरण लिने त्यो रुख खडा
न त्यो कालो मैलो जलद, रजनी त्यो न त कडा।
न त्यो प्यारो कापी, कलम, कविताको भुटभुटी
कुनै फेला पारे अगम उनले शान्तिढुकुटी।।15।।

न यो द्यावापृथ्वीमय भुवनको भास उसमा
न ता बोक्रै मैला विषयसुखको प्यास उसमा।
अहा त्यो स्वर्गीय स्फटिक रुचि भन्दा शतगुणा
थियो कस्तो कस्तो अमृतमय निष्कञ्चनपना।।16।।

शरत्को वेला होस्, अमृतकर लाखौं टहटह
उदाऊन् बेदागी गगनभर गर्दै चहचह।
प्रभा तिन्को उम्लोस्, तदपि उस आलोकलवको
अगाडी त्यो सारा मलिन मयलै तुल्य नभको।।17।।

सुधाको त्यो झर्ना, कवि हुन गये सीकर सरी
थियो त्यो शोभाको जलधि, कविजी मञ्जुलहरी।
मिठो त्यो मिश्रीको रस मधुर मिश्री कवि थिये
अहा कस्तो कस्तो अगम छविमा तन्मय भये।।18।।

यसो हेर्दा श्रद्धासित नगिच भन्दा नगिचमा
डुबे ती दोटैको हृदयबिचको विन्दु बिचमा।
उसो हेर्दा टाढा मन वचन भन्दा अति पर
इयत्तामा जस्को श्रुति सकल हुन्थे थरहर।।19।।

लिये तिन्ले त्यस्मा निरतिशय तादात्म्यरसको
ठुलो भक्ति श्रद्धा, तर विषय त्यो भाग्यवशको।
मिलूँ भन्दा भन्दै गरम दुधमाथी तर सरी
तुरुन्तै उत्रे ती, हृदयबिच लाग्यो किरिकिरी।।20।।

म को हूँ? त्यो के हो? कुन चटकमा गद्गद थियें?
कसो भो? के के भो? किन म सहसा बेगल भयें?
कता लाग्यो त्यत्रो परम सुखको सागर भनी
घुमे निक्कै तृष्णातरल कवि फेरी फनफनी।।21।।

बढ्यो चिन्ता ज्यादा, विरहवश आँशू गहभरी
भये, त्यै चिन्तामा कवि बहुत खेले लहबरी।
त्यसै घुम्दा घुम्दै उस गहन चिन्ताबिच फसी
बिचैमा भेट्टाये विधिवश कुनै दिव्य तपसी।।22।।

अली मोटो अग्लो कद, जमिनमा छन् पद खडा
घुँडा, तिघ्रा, बाहू, उदर, उर छन् पुष्ट तगडा।
कसीलो सल्कालो गठन तनको, दीर्घ मुहुडा
जटा काला, लम्बा, वसन तनमा वल्कल कडा।।23।।

समुद्रैको जस्तो निरतिशय गाम्भीर्य मुखमा
सदा एकैनासे विषयरसको दुःखसुखमा।
थिये ती खम्बा झैं कठिन तपको, धैर्यगुणको
भरीलो ओजस्वी नयनयुगको ज्योतिउनको।।24।।

ति हेर्थे आशाले वदन तपसीको पुलुपुलु
उनी तिन्को हेर्थे नियतिगतिरेखा टुलुटुलु।
ति लोहाको टुक्रासदृश, तपसी चुम्बक थिये
त्यसै हेर्दा हेर्दै कविकन बलैले खिचिलिये।।25।।

अघी जो झल्केथ्यो परम सुख वा शान्ति मनमा
उसैको क्यै पाये झलक तपसीको वदनमा।
इनी को? कस्ता हुन्? भनि गम बढाये जति जति
स्वयं बढ्दै आयो तर अगमता नै उति उति।।26।।

दया, मैत्री, श्रद्धा, प्रणयरसले भित्र रसिलो
तपस्याले बल्दो तर हरघडी शान्त हँसिलो।
प्रभा उन्को हेर्दा हृदय सब भो गद्गद अति
तुरुन्ते श्रद्धाले कविकन लगाये कुतकुती।।27।।

झुकी (यहाँदेखिको प्रश्न र संवाद झकायेका विरही कविसितको हो) झट्टै जोडी करयुगल ऽ:बाबा हजुर को?
कुटी यद्वा योगाश्रम कुन? कहाँ हो हजुरको?ऽ:
भनी सोधे श्रद्धासहित कविजीले जब अनि
उनी बोले ऽ:मेरो चरित कविजी। लौ सुनऽ: भनी।।28।।

पुरी मेदै माटो दनुज दुइको सागर भरि
हवादारी गारो चिनिकन दिशाको वरिपरि।
सफा नीलो ताराजडित गगनै छादन कसी
बनायेको राम्रो भुवनकुटियाको म तपसी।।29।।

न तुम्बाको टण्टा, न त छ चिपिया, झोलिझकडा
न ता छाला, माला, न धुनि, न कुनै गेरुकपडा।
न ता चेलाचाटी, न गुरु परिपाटी छ शरण
खडा छू एकाकी जमिनबिच टेकेर चरण।।30।।

पिता माता को हुन्? कुन नियत वा कारण परी
लियें यस्तो ठाडो कठिन जुनिमा जन्म कसरी?
मलाई यो केही स्मरण अघिको छैन मनमा
म खाली हेर्दोछू प्रणयसित यो विश्वमहिमा।।31।।

सुती लेटी मिल्ने सुखसयल जानें न त रति
न ता कोही तीर्थभ्रमण सुख भोगें अलिकति।
जहाँ जन्मेको हूँ विधिवश उहीं छू अझ खडा
सही लाखौं चर्का विपद अथवा सङ्कट कडा।।32।।

चिसा ताता बत्ती क्रमसित भरीला दुइ थरी
घुमेका छन् मेरा उपर कुटिया उज्ज्वल गरी।
तिनैको त्यै लम्बा भ्रमणविधिमा त्राटक (कुनै वस्तुमा आँखा नचिम्ली टकटकी लगायेर हेरिरहने मुद्राको नाम हो -- त्राटक) गरी
बित्यो मेरो सारा तरुण वय ठाडै हरि हरि।।33।।

यति भनिकन लम्बा शास फेरेर फेरि
कवितिर अति तीखो नेत्रले खूब हेरी।
मुनिवर चुप लागे, लागिहाल्यो समाधि
जलधि अचल भैगो, के रहन्थ्यो उपाधि?।।34।।

Canto 2सर्ग 2

बिचमा भुमरी परी परी
बहँदी सम्थरकी नदी सरी।
फिर बग्न गयो उसै गरी
मुनिको शीतल सूक्तिमाधुरी।।1।।

चपेटा पर्नाले नियति अगुवा कर्मगतिको
लियेथें यो चोला जुन बखतमा लोकहितको।
उसै वेलादेखी जुन जति सहें कष्ट कहर
सबै त्यो सुन्दैमा पनि तिमि हुनेछौ थरहर।।2।।

म जन्मेको मात्रै, तन शिथिल, मन्टो पनि लुलो
कलीला रौं जस्ता पयरऽ: अडिने शक्ति फितलो।
चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडा
कठै त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा।।3।।

सहारौं, सम्भारौं, अशरण छ यो बालक भनी
मलाई को हेर्ने? उस बखत मायावश बनी।
जती चल्थे फिर्थे, सब मतलबी नासमझ ती
कठै अन्धा जस्ताऽ: विषयविषले व्याकुल अति।।4।।

कतै दायाँ बायाँ तिलभर पनी नेत्र नधरी
जथाभावी चल्दा अबुझ बटुवा टम्टम गरी।
म थर्कन्थें, भन्थें पनि गिडगिडाई तिनिकन
दुवै आँखा हेरी हिंड जमिनमा, अन्ध नबन।।5।।

ठुला साना प्राणी चतुर विधिका सन्तति सब
सबैको साझा हो प्रकृति गुणको भोग्यविभव।
सबै हाँसून् खेलून् सरल रसिलो जीवन धरी
धरालाई पारी प्रणयरसले देवनगरी।।6।।

बढी, बाँचौं, भोगौं विषयसुख राम्रोसित भनी
तिमी जस्तो गर्छौ प्रबल रुचि, उस्तै अरु पनि।
ठुलो को? सानू को? सम छ सबको जीवनविधि
सबैलाई प्यारो विषयसुखको यो जलनिधि।।7।।

अहन्ताको ठोक्तै घट घट विषे दिव्य तबला
अहन्ताको एकै भुवनपतिको जीवनकला।
भई भोगप्रेमी हरतरहले घुम्छ भवमा
उसैको सत्ता हो अनुभव लिने भित्र सबमा।।8।।

ऽ:दयाऽ: भन्ने एकै मधुरतम पीयूषरसको
पिई प्याला मीठो अनुभव लिँदै भित्र उसको।
यता विश्वप्रेमी बन मतलबी भाव नधर
उतालाई सोझै अमरपदवी हासिल गर।।9।।

किरामा, पक्षीमा, नर, पशु, लता, वृक्षतकमा
अहो एकैनासे परम चितिको दिव्य चकमा।
फुरेको देख्दैछौ तदपि किन गर्छौ धरमर?
विवेकज्योत्स्नाले सकल धरणी शीतल गर।।10।।

ठुलाले सानाका उपर करुणा दृष्टि नगरी
जथाभावी चल्दा धरणि सब हुन्छिन् यमपुरी।
कलीलो यो मेरो वय छ, बटुवा हो जनि गर
चलाऊ बिस्तारैसित नजरकै साथ पयर।।11।।

कराई चिच्च्याई यसरि बिलना वन्दन गरी
म बोल्थें त्यो वेला विकल बिचरो न्याहुल सरी।
कठै मेरो भाषा नबुझि सब चल्थे टमटम
हुनाले क्यै छ्यौमा उस दलनमा तै परिनँ म।।12।।

कहाँ कस्ले कस्तो किसिमसित कुल्चन्छ शिरमा
भनी डर्दै, तर्दै नयन बटुवाका पयरमा।
म गन्थें बाटोमा निशिदिन कठै। जीवनघडी
मजा मानी बुन्थें मलिन मुखमा जाल मकडी।।13।।

जसै बल्झे माखा, मसक बिचरा जालबिचमा
अनी कालो कालोपम शठ शिकारी नगिचमा।
पुगी दाह्रा धस्थ्यो रगत सब चुस्थ्यो तननन
म आँखा चिम्लन्थें सहन नशकी त्यो शठपन।।14।।

कठै यस्तै यस्ता धरणितल नै नर्क गह्रुका
गरी फिर्ने पापी कुटिल कपटी जीवहरुका।
तमासाले गर्दा मन विकलतासाथ चिरियो
विधाताको लीलावश पयर विस्तार थिरियो।।15।।

हवाको, धर्तीको, गगनतलको जो तिन थरी
बहन्थ्यो छातीमा रसबल उसैको भर गरी।
उठें सुस्तै सुस्तै, अलि अलि बढ्यो शक्ति मुटुको
उदायो यस्तैमा प्रखर महिमा ग्रीष्म ऋतुको।।16।।

विजेताको मानू विकट विजयोन्मादजनित
प्रतापज्वालाले सदृश, किरणश्रेणिखचित।
कडा ती दुर्दर्श ग्रहपति चढे मध्य नभमा
फिँजारी चौतर्फी भुवनभर सन्ताप भवमा।।17।।

हवा, पानी तात्यो, धरणितल तात्यो, नभ पनि
अँगेनू भैहाल्यो रविकिरण बल्दा दनदनी।
ठुला साना प्राणी सकल उसमा पिल्सिन गये
म त्यो वेला टिक्थें कसरि बलियो दैव नभये?।।18।।

न ता मेरो काया प्रबल, न त छाया छ घनको
न ता स्पर्शै मिल्थ्यो पलकभर चीसो पवनको।
कठै त्यो वेलाको अति विकल सन्तप्त मनको
अवस्था नै अर्को, सहजसित शक्ने कहन को?।।19।।

खडेरीले पोल्दा तन सब शुक्यो, मस्तक झुक्यो,
छुट्यो मानू नाडीचलन, पदमा जीवन लुक्यो।
नमिल्दी हो ता त्यो बखत जननीतुल्य रजनी
म लिन्थें यो चोला बदलिकन अन्तैतिर जुनी।।20।।

निशाले छर्थी जो अमृतरस वा शीतलपन
उसैद्वारा गर्दै दिवसभरको दाहशमन।
जती चढ्थ्यो राती विकल मुटुमा जीवनबल
उती घट्दै जान्थ्यो दिनभर सबै त्यो तलतल।।21।।

सही चर्को ज्वाला नियतिगतिले बन्धन परी
रही त्यस्तो चालासित अधमरा जीवन धरी।
बितायें त्यो गर्मी ऋतु सकल, वर्षा शुरु भयो
मलाई त्यो भाग्योदयविधिविधाता गुरु भयो।।22।।

बजाई चौतर्फी विजयनगरा त्यो घननन
उठी ठाडै गर्जी भुवनभर घुम्दै फननन
खडा भो कृष्णाऽऽत्मा जलद जब तेही बखतमा
चढ्यो मेरो शोकाऽऽकुल मन खुशीको तखतमा।।23।।

उज्यालो आशाको चहक चुहुँदो चारु बिजुली
जती गर्थ्यो कालो घनपटलमाथी झिलिमिली।
उती हुन्थ्यो मेरो हृदय सहसा सर्र सरस
थियो मानू प्राणै उस घनघटाको परवश।।24।।

विधाता पग्ल्यो वा जलदघटदेखी जल चुह्यो
सुधा बर्स्यो यद्वा प्रकृतिजननीको दुध बह्यो।
अहो जस्ले गर्दा लहलह भयो जीवन सब
निमेषैमा उर्ल्यो शतशतगुणा वृद्धिविभव।।25।।

अकस्मात् मिल्नाले मधुरतम त्यो जीवनसुधा
भयो मेरा लेखा अमरनगरी तुल्य वसुधा।
उदायें, मौलायें, जड पनि जमायें वरिपरि
पस्यो त्यै वेलामा तर मकन अर्कै थरहरी।।26।।

क्रमसित घटनाको चित्र सारा उतारी
विकसित मुखशोभा शान्त गम्भीर पारी।
किन किन मुनि फेरी बेसरी चक्कराये
मधुर अमृत बग्दो सूक्ितधारा दबाये।।27।।

Canto 3सर्ग 3

म पनी मुनिवाक्यमाधुरी
मुहुनीको वश बेसरी परी।
चुपचाप थियें शनैः शनैः
फिर निस्के मुनिका कुरा उनै।।1।।

बित्यो वर्षा, प्यारो जलन जलधारा छरिछरी
हरी ग्रीष्मज्वाला, सकल पृथिवी शीतल गरी।
पखेरामा लागी तुहिनगिरिको शङ्कर सरी
बस्यो यद्वा लेट्यो सुखमय हँसीलोपन धरी।।2।।

कुवा, खोलानाला, सर, दह तथा ताल, तटिनी
सबै सङ्ले झल्के, अति विमल ऐनामय बनी।
जहाँ हेर्दा नीलो गगनतल चुर्लुम्म सकल
डुबेको देखिन्थ्यो मुनिमन सरी स्वच्छ विमल।।3।।

खुले उद्योगीका शुभ दिवस जस्तै दश दिशा
निशाभन्दा राम्रा दिवस, दिनभन्दा अझ निशा।
शरत्को शोभाले सब मलिनता दोष दबियो
अहा द्यावापृथ्वीमय भुवन यो कञ्चन भयो।।4।।

तपस्याको छाया भुवनभर पारेर सबमा
बढूँ सुस्तै सुस्तै, पर पर चढूँ नील नभमा।
म भन्थें त्यो वेला पलपल ठुलो साहस धरी
बिचैमा चौतर्फी पशु धुरिन आये गरगरी।।5।।

कहाँ मेरो त्यस्तो तपनियमको सिद्धिसपना
कहाँ छोटा पेटू अधम पशुको त्यो पशुपना।
शिँगौरी खेल्दै ती निहुँपिहुँ झिकी लाखन थरी
निशाना मैलाई गरि खनिन आये वरिपरि।।6।।

कुनै मुन्टै टोकूँ भनि नयन दिन्थे उपर ती
कुनै खेल्दै चल्दै घुसुघुसु धकेल्थे मकन ती।
कुनै दल्थे, मल्थे, हरकिसिमका युक्तिबलले
कठै यस्तै चालासित कठिन धेरै दिन चले।।7।।

यताको यो बोधा, तल पयरमा कीट कठिन
तिखा दाह्रा धस्थे हरकिसिमले जीवन लिन।
झुकी त्यो मौकामा जिनतिन कडा आत्मबलको
सहाराले सारा मरि मरि सहें घात खलको।।8।।

कतै छाला लत्क्यो, बलसित कतै चर्र चिरियो
कतै पल्ट्यो आलो उकुच, उसमा सूच भरियो।
कतै तर्क्यो मर्क्यो, तन सब भयो घायल अति
मलम्पट्टी गर्थी फगत बिचरी नर्स नियति।।9।।

कठै त्यो वेलामा कठिन जुन सङ्कष्ट सहन
परेथ्यो, त्यो ऐले पनि बहुत गाह्रो छ कहन।
परीक्षा हो वा त्यो परहितमहामन्त्रजपको?
थियो यद्वा दीक्षाविधि नियम त्यो तीव्र तपको।।10।।

ममा त्यो वेलाको विकट खत वा दाग अझ छन्
कसैले जान्दैनन्, मनुज सब अन्धा अबुझ छन्।
कुनै जान्दो हो ता मनुज परपीडा अलिकति
मलाई के पर्थ्यो उस बखत त्यो घोर फजिती।।11।।

हजारौं ती धक्का रगडहरु खाँदै हरघडी
अडी काँपी काँपी कठिनसितs: पुर्लुङ्ग नलडी।
किशोराऽवस्था त्यो जिनतिन बित्यो व्याकुल बनी
हटे सुस्तै सुस्तै नियतिगतिले ती पशु पनी।।12।।

नयाँ बढ्दो चढ्दो वय, मधुर पानी पवनको
सुबिस्ताको साथै धृति र बल उत्साह मनको।
उपाधिज्वालाको प्रशम, सब यो सिद्धितरिका
जुट्यो, जस्ले गर्दा पिर सब भुलें जन्मभरिका।।13।।

हवाको, पानीको, धरणिजननीको रसबल
लिँदै, प्यूँदै, गर्दै पल पल सबै अङ्ग सबल।
म त्यो चौबाटोमा अटल बलियो आसन कसी
जमें, मेरो भित्री हृदय हुन थाल्यो अति खुशी।।14।।

थियो मानू मेरो उस बखतको भाग्य हँसिलो
बहन्थ्यो चौतर्फी चमचम सफा कान्ति रसिलो।
चरा तेही मेरो मधुर मुहुनीको वश परी
परी जस्तै झर्थे प्रणयसित गर्दै चिरिचिरी।।15।।

कुनै सुस्तै झुल्थे चहचह गरी चट्ट शिरमा
कुनै खेल्थे, डुल्थे, कलरव गरी मस्त सुरमा।
कुनै भन्थे राम्रो किसिमसित हामी सब चरा
यसैमाथी पारौं अब गुँड बनायेर बचरा।।16।।

चुचो ठाडो पारी वरपर निहारी गम गरी
कुनै भन्थे भारी श्रुतिमधुर झारी रसझरी।
खुला यो चौबाटो, बहुत घचिलो ठाम छ सब
यहाँ चल्छन् लाखौं शठ पथिक गर्दै कटुरव।।17।।

गुणी, ज्ञानी, ध्यानी, ऋषि, मुनिहरूसम्म सकल
चरामाथी गर्छन् हरतरहको बन्धनछल।
यहाँ बस्ता हाम्रो उपर पछि पर्ला कि खतरा
भनी गर्थे कोही बहस बहुतै नीतिचतुरा।।18।।

कुनै भन्थे यस्को रुचिकर जटामण्डल जब
हुँदै जाला बढ्दै गगनतलचुम्बी अनि सब।
सबै भन्दा माथी बसिकन गरौंला चहचह
झुली गाना गाई रसिकगुरु गन्धर्वसरह।।19।।

कुनै मेरो बढ्दो वयमधुरिमाको वश परी
परी जस्तै नाची पलपल ठुलो कौतुक गरी।
गला फारी भारी प्रणयसित गर्थे कलरव
म त्यो सुन्दा भन्थें, अब सफल भो जीवन सब।।20।।

छरीता फुर्के ती बहुत रसिला सुन्दर चरी
जती खेल्थे झिक्तै मधुर सुरसङ्गीतलहरी।
उती मेरो अन्तःकरण उनको रङ्गरसमा
डुबी गोता लिन्थ्यो, पलपल थियो दिव्यसुषमा।।21।।

म तेही लीलाले विकसित भयेकै समयमा
ठुलो शङ्का पारी चटुल चिडियाको हृदयमा।
कुनै चङ्गा आयें गगनबिच खेल्दै लडिबुडी
थियो जस्को डुब्दो बहुत धमिलो जीवनघडी।।22।।

हवामा बिस्तारै ढुलु र मुलु गर्दै तल झरी
जटामा त्यो अल्झयो अलिछिन बन्यो लर्कन सरी।
उदेकाई थालें सरल मनले गम्न म पनि
विधाताले टाँस्यो यसरि कुन विज्ञापन भनी।।23।।

जटामा त्यो त्यस्तो किसिमसित उल्टो मुख गरी
ढलेकै वेलामा विधिवश चल्यो आँधि र हुरी।
त्यसैले त्यस्लाई हरकिसिमले जर्जर गर्यो
भयो टुक्रा टुक्रा, फतफत सबै त्यो तल झर्यो।।24।।

थिये खाली दोटा करङ बिचराका, तिनि पनि
उडायो कौवाले लगिकन बनाऊँ गुँड भनी।
जटामा अल्झेको फगत रिलधागो अलिकति

रह्यो बाँकी, त्यस्ले फनफन घुम्यो मस्तक अति।।25।।
कहाँ त्यो चङ्गाको ललितगतिशोभा गगनको
कहाँ त्यस्तो चाँडो विकट दुरवस्था पतनको
विधाताले मानू क्षणिकतम उत्थानपतन
क्रियाको झल्कायो झलक करुणासाथ मकन।।26।।

अहो हेर्दा हेर्दै अबुझ दुनियाँ लाखन थरी
मसीनू धागोमा कठिनसित गर्दै थिरिथिरी।
उही चङ्गा जस्तै छिनभर उडी बन्धन चुँडी
बिलायेको देखें गगनबिच खेल्दै लडिबुडी।।27।।

लटाईको धागो तरलतम सङ्कल्प मनको
कका मस्कायेको उभयगति सुर्के पवनको।
सदा उड्दो तृष्णामय गगनमा कौतुक गरी
चमत्कारी चङ्गा सकल दुनियाँ नै हरि हरि।।28।।

कुनै ज्यादा माथी नयनयुगले भेट्न कठिन
कुनै ती लत्रेका तल तल धुलोमा जिनतिन।
कुनै थोरै माथी गननबिच भर्ने फुलजडी
अनौठाको शोभा हृदयबिच भास्यो उस घडी।।29।।

उता हेर्यो नौलो गगनतलमा लाखन थरी
उनै नङ्गा चङ्गा हरबखत गर्दै फिरिफिरी।
उडेका देखिन्छन् तर सब चुँडिन्छन् निमिषमा
थियो कस्तो कस्तो क्षणिक तिनको केलिसुषमा।।30।।

यता कोही ठाडो किसिमसित निस्क्यो, फिर उता
उठ्यो अर्कै चक्रो लिइकन कडा घातकटुता।
बडो बाङ्गो टेढो गतिसित दुवै खूब भिडिये
कठै भिड्दा भिड्दै गति शिथिल भो, चट्ट चुँडिये।।31।।

उभिण्डो भै लर्के तलतिर, बिपत्तासित गये
नयाँ निस्के आये, अलिछिन उडे, त्यै पथ लिये।
सदा यै ढाँचाले निमिषभर विश्राम नगरी
चलेको देखें त्यो चटकमय लीला हरि हरि।।32।।

अहो आफू भिन्नै बसिकन ठुलो खायस गरी
ठुला साना चङ्गा त्यस किसिमले लाखन थरी।
उडाई चौतर्फी चटचट चुँडालेर यसरी
बिपत्ता गर्ने त्यो कुन सकस होला हरि हरि।।33।।

त्यसै वेला यौटा विधिनियमको दर्पण बनी
चुँडेको चङ्गा झैं शिथिल रविको मण्डल पनि।
गये ढल्दै ढल्दै, तल तल हुँदै, कत्ति नअडी
गुते अग्ला अग्ला हिमशिखरले कान्तिपगडी।।34।।

झर्यो मैलो पर्दा भुवनभर अर्कै प्रकृतिको
विवेकाऽऽलोकश्री रहित मनझैं मन्दमतिको।
म डुबें त्यै कालो तमजलधिमा त्यो समयमा
घुम्यो त्यै चङ्गाको चटक सब मेरा हृदयमा।।35।।

यसरि हृदयहारी भावगम्भीर भारी
सरस सरस सानू सूक्तिनिस्यन्द झारी।
मुनिवर बनिहाले मौनभावाऽभिराम
अलिछिन मन मेरो चक्करायो तमाम।।36।।

Canto 4सर्ग 4

अलिबेर पतङ्गका कुरा
मनले खूब गमें पुरा पुरा।
उनको जब मौन भङ्ग भो
अनि अर्कैतिरको प्रसङ्ग भो।।1।।

निशाले जो मेरो उपर तमको चादर धरी
उषाको त्यो हाँस्तै निमिषभरमा नै पर गरी।
बित्यो एवंरीत्या रुचिकर शरत्काल सुखमा
परीहालें मानू पछि त म कठै मृत्युमुखमा।।2।।

स्वभावैले हो वा अविदित कुनै कर्मवश हो?
दशाले हो यद्वा कुटिले विधिको कोपवश हो?
नजाने केले हो प्रकृतिजननीको मुख भरी
जम्यो कालो पोतो मधुर मुखशोभा सब हरी।।3।।

मदारी झैं छोप्तै नजर सबका गुम्म कुइरो
घुस्यो मानू रोप्तै मुटुबिच तिखो शीतसुइरो।
जगत्मा चौतर्फी मलिन झुसिलो भाव भरियो
दिनश्रीको साथै तन सकल मेरो गँगरियो।।4।।

पिट्यो पाता कस्तै विकट रिपु भै शीतल शठले
तुषारोले मार्यो शिर सब थिची लात्ति हठले।
चुट्यो, टोक्यो, ठोक्यो अधम हिमले हुर्मत लियो
हुरीले मुण्ट्यायो विकट गलहत्तीतक दियो।।5।।

बसेको बाटोमा गुठिल गठरीसाथ धनको
फसेको फन्दामा कुटिल कपटी दस्युजनको।
कठै कोही निर्धो विकल बटुवा झैं म बिचरा
भयें त्यो पिट्टाले हल न चल यद्वा अधमरा।।6।।

चुहाई दिग्दारीसित मलिन आँशू तपतपी
कठै त्यो पिट्टाको कठिन पिरबाधा सब खपी।
म रुन्थेंऽ: साथैमा दिन पनि अँध्यारो मुख गरी
सधैं रुन्थ्यो मेरो अनुकरण गर्दै धरधरी।।7।।

कडा त्यो ठण्डीले सकल मुटुको ताकत जति
चुसीहाल्यो, थाल्यो विवश दुनियाँ खुम्चिन अति।
बिदा भैगो मानू उपचयकला विश्वभरको
म जस्ता नङ्गाको उस बखत गर्ने खबर को?।।8।।

कुनै रुञ्चे जस्तो मलिन सविता दक्षिणतिर
कुनामा झुल्कन्थे, तर तिनि रहन्थे क्षणभर।
थियो सारा पृथ्वीभर अगिपछी केवल खडा
धमीलो ठण्डीको अति कठिन साम्राज्य तगडा।।9।।

अहा त्यो वेलाको क्षणिक पनि आलोक रविको
मिठो मर्मस्पर्शी सरस कविता झैं सुकविको।
ठुला साना निर्धा धनिक सबलाई सम थियो
ममा जस्ले गर्दा अतुल समता जागृत भयो।।10।।

म आत्तिन्थें ज्यादा जुन तुहिन पर्दा शिरभरी
गुती लम्बा उस्कै गिरिवर सबै स्वच्छ पगरी।
बहाडी भै हाँसी मुसुमुसु रसीलोपन धरी
कुरा गर्थे मानू अमरपुर हेर्ने सुर गरी।।11।।

उज्यालो वा राम्रो सकल तिनको स्फूर्ति, दृढता,
प्रभा, हेर्दा हेर्दै विलय हुन थाल्यो विकलता।
उदायो खम्बा झैं अटल रहने साहस ठुलो
भयो जस्ले मेरो मरणभयको ग्रन्थि खुकुलो।।12।।

विचारज्योत्स्नाले जुन जति थियो दोष मनको
सबै धोयो, ल्यायो अभिरुचि तपोरूप धनको।
विपद्, बाधा, निन्दा, स्तुति, कठिन शीतोष्ण सब त्यो
सही बस्ता केही समय अथवा जीवन बित्यो।।13।।

लिई श्रद्धा एकै परहितमहामन्त्रजपको
बनी खम्बा जस्तो कठिनतम त्यो दीर्घ तपको।
गरें जस्तो मैले जुन जति कुराका अनुभव
म त्यो जम्बाजम्बी कहन कसरी शक्तछु अब?।।14।।

यता माथी नीलो गगन, तल विस्तीर्ण धरणी
उता शैलश्रेणी, उभयतिर त्यो दीर्घ सरणी।
त्यता ठाडै बग्दी मधुर जलले पूर्ण तटिनी
तपस्याका साक्षी सबतिर खडा छन् अझ पनि।।15।।

कडा त्यो ठण्डीका दिवस, रजनी, पक्ष, महिना
सबैमाथी गर्दै जिउ जकडले शीतल टुना।
बिते सुस्तै सुस्तै गठन तनको खूब दह्रियो
विपद् बाधा ज्यादा सहन शकने शक्ति भरियो।।16।।

म त्यो वेलादेखी प्रतिदिन कडा पुष्ट, बलियो
हुँदै आयें, पायें कठिन तपको स्वाद गुलियो।
अघीको शीतोष्णप्रभृति सब बाधा पर सर्यो
विधाताले मानू अभय पदमा दाखिल गर्यो।।17।।

त्यसै वेलादेखी किन किन ठुलो कौतुक गरी
सबैमाथी छर्दै तरुणतम शोभा सुनहरी।
वसन्तश्री ठाडै सुरनगरदेखी तल झरिन्
धरित्रीमा मानू सुखमय नयाँ जीवन भरिन्।।18।।

नयाँ हावा लाग्यो, जलथल भयो मञ्जुल नयाँ,
नयाँ अर्कै भावोदय, हृदयको कौतुक नयाँ।
नयाँ बोलीचाली, विषयरुचि निस्क्यो सब नयाँ
नयाँ भैगो मानू समयगतिले गैह्र दुनियाँ।।19।।

अँध्यारो पर्दा त्यो सहजसित फारेर त्यसरी
फिँजारी चौतर्फी मधुर सुखसौन्दर्यलहरी।
वसन्तश्री गर्थिन् सब तरुलतामा चहचह
छचल्किन्थ्यो जस्ले प्रणयरसको निर्मल दह।।20।।

ठिटी झैं गर्थिन् ती नटखटऽ: छिटी झन् पयरमा
थियिन्ऽ: दल्दै चल्थिन् अबिर अथवा फागु शिरमा।
हवा सुस्तै सुस्तै चपल उनको अञ्चल धरी
कुरा गर्थ्यो मानू मधुर मुहुनीको वश परी।।21।।

त्यही फागुद्वारा उस बखत मेरो शिरभरी
चढ्यो चिल्लो लाली टलक अथवा माणिक सरी।
म यो देखी आफैं मनमन बडो गद्गद भयें
वसन्तश्रीलाई प्रणयफुलको अञ्जलि दियें।।22।।

चढायेको मैले प्रणयफुलको अञ्जलि लिई
मलाई तत्कालै प्रथम वर वा नम्बर दिई।
घुमिन्, नाचिन्, खेलिन् हरकिसिमको कौतुक गरी
वसन्तश्री, उर्ले भुवनभर आनन्दलहरी।।23।।

म तेही वासन्ती मधुर छविको रङ्गरसमा
डुबी पौडी खेल्दै पल पल लिँदै दिव्य सुषमा।
डटें चौबाटोमा पथिक जनको आश्रय बनी
सबै लागे मेरो प्रणयवश भै गर्न सह्रनी।।24।।

त्यहाँदेखी मेरा जति जति बिते जीवनघडी
उती खुल्दैआये क्रमसित विपत्का हतकडी।
यता यो पृथ्वीमा निरतिशय सौन्दर्य भरियो
उताको खातामा ऽ:तरुण तपसीऽ: नाम दरियो।।25।।

मसित सब बताई ई मिठा सत्य बात
नयनयुगल चिम्ले सिद्धले शान्तिसाथ।
हृदयबिच बिलायो श्वासनिश्वास सारा
मुनिमन पुगिहाल्यो पट्ट पल्लो किनारा।।26।।

Canto 5सर्ग 5

वचनामृत त्यो पियें जति
दिलमा प्यास बढ्यो अहो उति।
अब त्यो कब पाउँला भनी
अडियें निश्चल दीप झैं बनी।।1।।

चल्यो सुस्तै भित्री पवन अथवा स्पन्द मुटुमा
पर्यो सानू रेखा स्मितकिरणको ओष्ठपुटमा।
खुल्यो जोडी लामा कमलदल जस्ता नयनको
प्रभा झल्क्यो राम्रो दिवसमणिको झैं वदनको।।2।।

निराशाको पर्दा मलिन मनको भेदन गरी
मुटूमा झल्काई अति रुचिर आलोकलहरी।
उनी बोले फेरी जलद सरि धीर ध्वनि गरी
ति जो सुन्दा सुन्दै विलयतक हुन्थे हरि हरि।।3।।

बिताई वा भोगी विकट हिमको सङ्कट सबै
म रस्तामा त्यस्तो किसिमसित बस्ता अटल भै
ठुला साना सारा पथिक पथको मङ्गल सरी
मलाई सम्झन्थे, प्रणयसित घुम्थे वरिपरि।।4।।

थियो बाल्यावस्था जुन बखत मेरो, उस घडी
दगुर्थे लत्त्याई जुन पथिक अन्धा रिपु सरी।
उनैको देख्दै त्यो अति मतलबी भाव मनको
दया साथै हाँस्थें फगत मुख हेर्थें गगनको।।5।।

तपस्याको अग्लो भवनबिच चढ्ने असजिला
कडा दैवी बाधामय अति नराम्रा खुडकिला।
सबै नाघें, देखें नगिच नगिचै लक्ष्यपरिधि
भयो जस्ले गर्दा बहुत हलुका जीवनविधि।।6।।

त्यहाँदेखी झन् झन् डबल गतिले कत्ति नअडी
ममा बढ्दै आयो तरुण वय, शोभा हरघडी।
मुटूको कम्जोरी, भय, शिथिलता, संशय उड्यो
जगत्को कल्याणव्रतविषयमा साहस बढ्यो।।7।।

सबै आऊन्, पाऊन् प्रणयसुखद्वारा हृदयको
कसैलाई मेरो नगिच नरहोस् नाम भयको।
म भन्थें झुम्मिन्थे पथिक सब, राती तर तिनी
नबस्नाले हुन्थें मन मन अली खिन्न म पनि।।8।।

म मौनी, एकाकी, प्रिय घरवटी, आश्रम खुला
चुलोचम्को लाई खचित नगिचै लाखन शिला।
उता मीठो पानी, सब तरहले वास सजिलो
थियो, अग्लो होचो जमिन, तर सुत्ता असजिलो।।9।।

त्यसैले हो यद्वा अविदित कुनै कार्यवश हो
दयाले नै हो वा अरु अरु कुनै स्वार्थवश हो।
नजाने केले हो? अलि दिनपछी ग्राम्यजनको
ठुलो धारो लाग्यो तह वितह हेर्दै जमिनको।।10।।

खनी ढुङ्गा माटो कमरतक मेरो सब पुरी
चिने चौकी चाक्लो उपर छपनीले सम गरी।
म त्यो चौकीमाथी झलमल बनें गोल गजुर
कठै गर्थ्यो तल्लो हर तर तलैबाट उजुर।।11।।

सहू सर्दी, गर्मी बहुत बलियो आसन कस,
रहू चौकीभित्रै, कठिन तपको भोग सकस।
भनी मानू मेरो स्थितिनियमको बन्धन गरी
विधाताले बार्यो अति कठिन बारै वरिपरि।।12।।

जमायें लाचारीसित जमिनमा आसन कडा
बन्यो छायाशाली उपर भरिलो गोल मुहुडा।
जती जस्तो आओस् नियतिवश शीताऽऽतप हुरी
भयें त्यो हेलैले सब सहन शक्ने ननिहुरी।।13।।

बिपत्ता चौकीमा हलनचल पाऊ तल तल
निदाये, तन्काये तनतन निदैमा रसबल।
धरित्रीको भित्री अमृतगुण सर्वत्र फिंजियो
अवस्थाले मेरो अझ मधुरिमाको पथ लियो।।14।।

कुनै कालो चिल्लो घनसम जटामण्डल घना
पुग्यो माथी, भैगो सफल सब सङ्कल्पसपना।
फुक्यो छाती, लम्बा प्रबल भुजको मण्डलमनि
सुखैमा बित्ने भो पथिकहरुको दीर्घ रजनी।।15।।

भरीलो त्यै बढ्दो रुचिर रुचिले आदर गरी
दियो निम्ता, डाक्यो चपल चिडिया लाखन थरी।
जटाको टुप्पामा अभयसित बोल्दा तिनिहरू
म भन्थें यै सारा विहगकुल हो किन्नरगुरु।।16।।

म द्यौता, त्यो चौकी विधिविहित देवालय सरी
पुजारी भै बस्थे चपल चिडिया लाखन थरी।
थियो तिन्को पूजाविधि ललित लीलारसमय
म दिन्थें पूजाको फल अतुल विश्रान्ति, अभय।।17।।

तिनै मेरा प्यारा अतिथि, रसिला बान्धव तिनै
तिनै सारा सच्चा सहचर, छिमेकी पनि तिनै।
तिनैलाई ठान्थें परिजन तथा जीवन पनि
तिनै मिल्दा बन्थें भुवनभर सर्वोत्तम धनी।।18।।

पखेटाको हम्को, स्वरमधुरिमा कण्ठतटको
हलुङ्गो नङ्ग्राको पकड, ठुँग त्यो चञ्चुपुटको।
मुटू छेड्दै जाने छनक, छवि, सङ्गीत, नचरी
म सम्झन्थें सारा मधुर परमाऽऽनन्दलहरी।।19।।

विधाताले मेरा उपर करुणाको वश परी
स्वयं वर्षायेका अमर नगरीका फुल सरी।
थिये सारा प्यारा विहग, तर ती भुर्र सहसा
उडीजाँदा देख्थें किन किन अँध्यारा दश दिशा।।20।।

कुनै वेला भेला भइ विहग सारा कचहरी
जमायेको देखी हतमति शिकारी अघि सरी।
मट्याङ्ग्राले ठोक्यो अवसर बुझी टन्न बलले
खस्यो चीं चीं गर्दै कठिनसित यौटा, अरु चले।।21।।

कठै चल्दो फिर्दो प्रकृतिपुतली त्यो निमिषमा
अकालैमा त्यस्तो गतिसँग परी कालवशमा।
लडेको देख्नाले हृदय सहसा चर्र चिरियो
दया ज्यादा लाग्यो नयनयुगको मोति छरियो।।22।।

शिकारी संहारी अबुझ हतभागी मनुजको
थियो कस्तो कस्तो विकट अनुहारै दनुजको।
अँठ्यायो त्यस्ले त्यो झटपट गई घायल चरी
छुनासाथै निस्क्यो कठिनसित ऽ:चीं चीं, चिरिरिरीऽ:।।23।।

व्यथाको जो ज्वाला विकल उस चीत्काररवमा
थियो, त्यस्को थोरै असर दुनियाँको हृदयमा।
हुँदो हो ता, कालो धरणितल कैलाससदन
बनीजान्थ्यो, लोभी मनुज पनि हुन्थ्यो त्रिनयन।।24।।

चरीको त्यो ऽ:चीं चींऽ: मय रुदन वा क्रन्दन कडा
थियो जान्नेलाई अमरकृत विद्यालय खडा।
नसम्झी यो केही अबुझ शठले भित्र मनमा
चरीलाई पक्ड्यो शिव शिव तुरुन्तै जमिनमा।।25।।

निभ्यो साह्रै राम्रो अमरपुरको दीप छिनमा
गिर्यो कालो पर्दा भयचकित मेरा नयनमा।
चरीको ऽ:चीं चींऽ: मा उस बखत मैले जुन कुरा
सुनेथें, त्यो सुन्दा तिमि पनि हुनेछौ अधमरा।।26।।

हुन त बहुत सानू किन्तु गम्भीर भारी
विहगवधकहानी कष्टले त्यो उतारी।
अलि छिन तपसीले अश्रुधारा बगाये
नयनयुगल फेरी शून्यमा नै लगाये।।27।।

Canto 6सर्ग 6

करुणामय त्यो कथा सुनी
मुनि झैं खिन्न भयेर ती पनि।
चुपचाप थियें नगीचमा
फिर निस्क्यो मुनिवाक्य बीचमा।।1।।

शिकारीको झम्टा तनबिच परेथ्यो जब अनि
चरी बोल्यो चीं चीं गरिकन कठै व्याकुल बनी।
म मर्ने वेला भो तर मनुज तिम्रो मनुजता
कता भाग्यो, त्यस्को भरसक बुझे है तिमि पता।।2।।

कहाँ कस्तो तिम्रो उदरमय त्यो दुर्भर दरी
कहाँ यस्तो सानू सरलमति निर्दोष म चरी।
दया माया छोडी मनुज कुन तृष्णावश परी
मट्याङ्ग्राले हान्यौ मकन तिमिले आज यसरी?।।3।।

न शक्छौ यो आँशू टपटप टिपी चप्प पिउन
न शक्छौ मासूले दिनभर अघायेर जिउन।
न शक्छौ यो भुत्ला लिइकन कुनै वस्त्र सिउन
चुँड्यौ व्यर्थै मेरो मनुज। तिमिले जीवन किन?।।4।।

सिधासादा, निर्धा उपर पिरबाधा जति जति
ठुला, बाठा, टाठा मनुजहरु पार्छन् उति उति।
घृणा, निन्दा, हत्याप्रभृति सब उस्को कटुफल
उनै उल्टो भोग्छन्, विधिनियम यो जान अटल।।5।।

तिमी जान्ने बाठो मनुज, गुरु जस्तै भुवनको
म लाटो अज्ञानी विहग बिचरो दूर वनको।
स्वभावैले मेरा उपर हुनुपर्ने सदयता
लियौ जानी जानी अहह किन उल्टो परुषता?।।6।।

जगत्रक्षालाई जुनिभर अहिंसाव्रत धरी
उसैद्वारा व्याघ्रप्रभृति पशु सारा वश गरी।
रहन्थ्यो जो ज्ञानी मनुज गहिरो शान्तिसुखमा
मट्याङ्ग्रा हान्ने भो शिव शिव उही आज रुखमा।।7।।

तिमी घुम्थ्यौ फिर्थ्यौ धरणितलमा, हामि नभमा
कुनै वेला हुन्थ्यौं उभय तल माथी विटपमा।
दुवै सुन्थ्यौं बोली खुसिसित दुवैका दुइ थरी
वृथा त्यो भत्कायौ अबुझ तिमिले शान्तिनगरी।।8।।

कुनै वेला तिम्रो गृह र फुलबारीवरिपरि
सबै हामी घुम्दा चटुल गतिले कौतुक गरी।
कठै साना साना कुसुमकलि जस्ता शिशु पनि
ऽ:चरी आः आःऽ: भन्थे, प्रणयवश पुग्थे रुखमनि।।9।।

हँसीला तिम्रा ती सरल शिशुको त्यो मधुरिमा
म नाचेको देख्थें प्रणयपुरको मध्य धुरिमा।
खुसी हुन्थें, भन्थें मनुजजुनि हो भाग्यसदन
कठै यो हत्यारोपन त उस वेला समझिनँ।।10।।

खसेको दाना वा फलफुल तथा मञ्जुमुजुरा
जुट्यो जो, सो खाई खुशिसित गरी नित्य गुजरा।
तपस्वी जस्तो भै प्रकृतिपथको मङ्गल गरी
रहेको यो निर्धो मकन किन मार्यौ? हरि हरि।।11।।

हवामा पौडन्थें, जुन मधुर सङ्गीत मुखमा
थियो, त्यस्ले तिम्रो श्रुतिविवर भर्थें म सुखमा।
कठै वासा बस्थें, विजन वनका मञ्जु रुखमा
बिरायें के मैले? किन धसिदियौ मृत्युमुखमा?।।12।।

पिताको माताको प्रणय उहिल्यै कालगतिले
बित्यो, भाई बैनीहरु सब चुँड्यो दुर्नियतिले।
थियें बाँकी यौटा फगत म कठै वंशविरुवा
सर्यो आजै मेरा उपर पनि त्यो काल सरुवा।।13।।

कलीला ती साना विकल बिचरा बाल बचरा
विना चारा भोकै सब भइशके हुन् अधमरा।
थियी साथै पोथी जुन, शिव हरे त्यो पनि अब
कतै गर्दी होली रुदन अथवा क्रन्दनरव।।14।।

दुवै भालेपोथी हरबखत पालो गरि गरी
लगी दिन्थ्यौं चारा विकल बचराको मुखभरी।
अकेली सुत्केरी अब शिव हरे दीन बिचरी
गुजारा गर्ली त्यो कसरि टुहुरा पालन गरी?।।15।।

अवस्था यो मेरो सहन अथवा खप्न नशकी
नजाने त्यो ऐले वरपर कतै मूर्छित छ कि?
मरी पो हाली वा प्रियविरहले मार्गबिचमा
पुगी वा औताई विकल बचराकै नगिचमा।।16।।

कदाचित् त्यो मेरी प्रणयपुतली व्याकुल बनी
रुँदै खोज्दै आयी वरपर भने मृत्यु नगनी।
नहाने है बाबा विकल बचरा हुर्कन दिये
वृथा अर्को चर्को शिशुमरणको पाप नलिये।।17।।

कहाँ त्यो सुत्केरी प्रणयपुतली त्यो गुँड कहाँ
कहाँ प्यारा साना शिशुहरु कठै त्यो सुख कहाँ।
कहाँ प्रेमी साथी स्मरण पनि हा कष्टमय भो
कठै मेरा लेखा अब सब कुराको प्रलय भो।।18।।

न चाँडो जाने भो सहजसित यो प्राणपवन
न शक्छू यो बाधा सहन अथवा शान्त रहन।
न थामिन्छन् आँशू न त छ अरु क्यै जीवनगति
कठै कस्तो पापी कति कुपित यो क्रूर नियति।।19।।

सिला खोजी चर्ने सफरसुख गर्ने गगनमा,
ठहर्ने शाखामा, मधुर सुर भर्ने पवनमा।
सिधासादा, निर्धा विहगकन मार्ने नियतिले
दियेकी हुन् के त्यो करयुगल माता प्रकृतिले?।।20।।

नजानी आनन्दी मनुजकुलको उन्नतिकला
म जस्ता निर्धाको बलसित अँठ्याईकन गला।
वृथा त्यस्तो चोखो करयुगल त्यो दूषित गर्यौ
धरित्रीमा कालो जहर अथवा पातक छर्यौ।।21।।

दया राखी हाम्रा उपर विधिले कार्यकुशल
दिँदो हो ता तिम्रै सदृश बलियो बाहुयुगल।
पुगी टाढा टाढा फलफुल टिपी लाखन थरी
भरीदिन्थ्यौं ल्याई प्रणयसित तिम्रा घरभरी।।22।।

चुचो साह्रै सानू धन फगत हाम्रो छ त पनि
कुनै देख्नासाथै थकित जन भोको रुखमनि।
चुचैले पाकेको फलफुल चलाई बल गरी
खसाल्थ्यौं, त्यो खाओस् भनिकन दयाको वश परी।।23।।

दया हो पृथ्वीको अति चहकिलो पारसमणि
दया नै हो कालो भवजलधिको मुख्य तरणी।
दया त्यस्तो त्यागी मनुज किन हिंसातिर झुक्यौ?
म मर्ने हूँ, मर्छू तर तिमि नराम्रोसित चुक्यौ।।24।।

म भन्छू हे अन्धो मनुज तिमि जस्ता मनुजको
अगाडी हत्यारो प्रकृति हलुकै हो दनुजको।
यही तिम्रो पापी प्रकृति सब तिम्रा घरघरै
घुसी लाखौं लाखौं पुरुषकन पार्ला कि ठहरै?।।25।।

मट्याङ्ग्रो माटाको जुन कुरुचिले आज भवमा
बन्यो, सोही पापी कुरुचि पछि सल्केर सबमा।
कडा गोला गोली कठिन चिजका लाखन थरी
खडा भै पार्नेछन् सकल धरणीमा थरहरी।।26।।

यही तिम्रो हिंसा, छलकपट ज्यादा प्रबल भै
सिधासादा, निर्धा अबुझ थिचिंदा आखिर सबै।
अशान्तिज्वाला जो मुलुकभर बल्ला दनदनी
यसैमा पर्नेछौ जडमति म जस्तै तिमि पनि।।27।।

चराको झैं तिम्रो गगनतलमा सर्र उडने
कुनै वेला आयो नियतिगतिले तागत भने।
यही हत्याकारी कुरुचिवश भै पागल सरी
अवश्यै पार्नेछौ सकल पृथिवी प्रेतनगरी।।28।।

बढ्यो स्याँ स्याँ, ज्यादा अभयसित जो अन्तिम कुरा
म भन्छू यो राम्रो किसिमसित सम्झे तिमि पुरा।
अहिंसाको गङ्गाजल विन सबै उन्नतिकला
खरानी भै तिम्रो मनुज नगरोस् दीर्घ सुकला।।29।।

यती भन्दा भन्दै क्षणभर भयो मूर्छित चरो
शिकारी के सम्झोस् कपटपटु त्यो मूर्ख बिचरो।
दियो उस्ले उल्टो झटपट पुरस्कार मरण
बनिन् माता पृथ्वी उस विहगको अन्त्यशरण।।30।।

व्यथित विहगको त्यो आर्त चीत्कारभित्र
उस बखत फुरेका वाक्य साह्रै पवित्र।
कठिनसित बताई बर्बरी आँशु झारी
मुनिमन पुगिहाल्यो यो महासिन्धु पारी।।31।।

Canto 7सर्ग 7

मुनिका उस सूक्तिसिन्धुको
रस प्यूँदा हरएक बिन्दुको।
मनले गहिरो मनुष्यता
पहिचान्यो, तर त्यो कता कता।।1।।

हुँदोहोला तोलाभर फगत फुर्के जुन चरी
उही मारी, पापी कठिन करको लर्कन गरी।
चल्यो व्याधा, साथै पवन पनि तातो हररर,
बह्यो मानू सारा प्रकृतिपथमा भित्र जहर।।2।।

म ठिङ्गा, त्यो नङ्गा पथ, वधिकको त्रास मनमा
परी भागीहाले विगह बिचरा दूर वनमा।
बिझयो काँढो जस्तै कठिन घटना त्यो नयनमा
घृणा ज्यादा लाग्यो मनुजमतिको त्यो पतनमा।।3।।

चरीले छादेको फगत दुइ थोपा रगतमा
डुबेकी नै देखें सकल पृथिवी त्यो बखतमा।
दिशा देखें मैला, वरपरि सबै शैल धमिला
नदी देखें काली शिव शिव उनै पुण्यसलिला।।4।।

यती चाँडै मेरो किन कसरि आँखा धमिलियो?
तमासा यो क्या हो? भुवन किन मैलो सब भयो?
भनी हेर्दा हेर्दै वर पर कठै विश्वभरमा
उही देखें कालो कुरुचि भरियेको इथरमा।।5।।

अहो यस्तो कालो विकट परहिंसाकुरुचिले
बिगारेको वातावरण कुन दैवी सुरुचिले?
सफा होला भन्ने लिइकन ठुलो तर्क मनमा
म एक्लै झोक्रायें नयन युग चिम्ली विजनमा।।6।।

उडेंछू त्यै वेला चपलगति सङ्कल्परथमा
चढी ज्यादा माथी गगनबिच वा शून्य पथमा।
त्यहाँ खेल्दा खेल्दै मयल अथवा दोष मनको
गयो गल्दै गल्दै, स्थिति अगम झल्क्यो भुवनको।।7।।

मजा मानी नीलो नभजलधिमा निर्भय बुडी
घुमी पौडी खेलें, प्रणयसित यद्वा लडिबुडी
सुनें त्यै वेलामा अगम रसिला लाखन कुरा
खुशीको बल्लीमा पटपट फुटे पट्ट मुजुरा।।8।।

न चेला त्यो वेला, गगन गुरुजी, शान्त मुहुडा
थियो शिक्षादीक्षा ध्वनिमय बडो अद्भुत कडा।
अहो पढ्दा पढ्दै गुरुमय भयो विश्वविभव
म कच्चा विद्यार्थी, शकिन सहसा सम्झन सब।।9।।

जबर्जस्ती मेरो अति जरकटे कान पकडी
तपस्याका खोले सकल गुरुले दुर्गम कडी।
भयो त्यस्ले गर्दा श्रवणपुट मेरो झमझम
पछाडी यो झन्क्यो अमृतमय मीठो स रि ग म।।10।।

कुनै चाहे नङ्गा भइ फगत दङ्गा गरिरहून्
कुनै चाहे चङ्गा भइ गगनगङ्गाबिच बहून्।
अँध्यारो स्वप्नाका सुख दुख खुशी भै सब सहू
सबै भन्दा भिन्नै भइ फगत हाँसी खुश रहू।।11।।

डुब्यो त्यस्तो चालासित किन चराको रगतमा?
भुली त्यो, निःस्वार्थ प्रणय गर सारा जगतमा।
त्यसैले त्यो काँढो नयनबिचको झर्छ सहसा
तुरुन्तै देख्नेछौ अनि पछि उज्याला दश दिशा।।12।।

लियेथें त्यो शिक्षा जब अनि घट्यो कष्ट कसला
उदायो निःस्वार्थप्रणयविधुको शीतल कला।
घृणाको, निन्दाको सब शिथिल भो बाह्य विषय
भयो साह्रै हल्का सुखमय अनासक्त हृदय।।13।।

जती आँखा चिम्ल्यो किन किन उती लाखन थरी
रसीला उर्लन्थे हृदयदहमा दृश्यलहरी।
घडी देखा पर्थ्यो गगनबिच अर्धेन्दु विमल
घडी अग्ला अग्ला हिमशिखर सेता झलमल।।14।।

घडी बग्थिन् गङ्गा परम शुचिता सेचन गरी
घडी आईपुग्थे हरकिसिमका देवनगरी।
घडी नीलो ताराजडित गगनै झवास्स छिनमा
स्वयं आई पस्थ्यो हृदयमय सानू सदनमा।।15।।

घडी देखा पर्थ्यो चमचम गरी दीर्घ बिजुली
घडी आत्मज्ञानी पुरुष अथवा सिद्ध सकली।
घडी पानी पानी सबतिर छताछुल्ल धरणी
घडी आगो बल्थ्यो धपधप, घडी वासरमणि।।16।।

न मिल्थ्यो त्यो शिक्षा सितिमिति कुनै शास्त्रहरुमा
न वा ज्ञानी ध्यानी धरणितलका सिद्धहरुमा।
लिँदा एकै गोता निमिषभर चुर्लुम्म जसमा
रसीलो निस्कन्थ्यो पल पल चमत्कारसुषमा।।17।।

अहो यस्तै यस्ता अघट घटनारूप चटक
मजा मानी भित्रै अनुभव गरी धेर पटक।
पछी सुस्तै मेरो चपल मन त्यो कौतुक भुली
झुली लिन्थ्यो निद्रामय अतुल शय्या मखमली।।18।।

उषाले यस्तैमा पवनमय पङ्खा सिरिसिरी
ममाथी हम्कन्थी, तर मकन लाग्थ्यो किरिकिरी।
म झोक्रिन्थें, भन्थें किन सब टुट्यो कौतुक, भनी
कडा रातो देख्थें गगनगुरुजीको मुख पनि।।19।।

बित्यो रात्री सारा, तम पर सर्यो, सर्र रविको
प्रभा झुल्क्यो, टल्क्यो टलक कलनातुल्य कविको।
बनी अर्कै निस्किन् प्रकृतिजननी, विश्वरभरमा
रमायिन् चौतर्फी विकसितमुखी जागृतिरमा।।20।।

निशामा त्यो प्यारो पठनविधि गर्दै दिवसमा
उदासी भै हेर्दै हरकिसिमको बाह्य सुषमा।
जगायें निःस्वार्थप्रणयसुखको जोति भरिलो
निकै नै कम्ती भो, विहगवधबाधा जहरिलो।।21।।

गये बढ्दै बढ्दै पयर तल, आँखा गगनमा
जम्यो, फेरी नीलोपन गगनको टम्म मनमा।
जटाशाली अग्लो शिर पवनको रङ्गरसमा
रमाई छर्कन्थ्यो छुनुमुनु गरी शान्तिसुषमा।।22।।

कसैले त्यै वेला पनि हृदय पारीकन कडा
दिये भारी धक्का मकन अथवा उग्र रगडा।
लुछे, लाछे, कोपे, जडतक खने, हुर्मत लिये
कठै मेरा लेखा तर अबुझ ती बालक थिये।।23।।

जुँघा दाह्री तान्ने सरल शिशु जस्तै पथिक ती
म सम्झन्थें, हुन्थें प्रणयरसले गद्गद अति।
बित्यो एवरीत्या समय, वयले उन्नति लियो
रसीलो छायामा प्रणयविधुको कान्ति फिंजियो।।24।।

सँभाली वा खारी चपल मनका वृत्ति यसरी
म रस्तामा बस्ता प्रणयशिवको पूजन गरी।
बित्यो मेरो निक्कै समय उस चौकी उपरमा
जहाँ वासा बस्थे विविध बटुवा ती रहरमा।।25।।

यति भनी तपसीले मन्द निःश्वाससाथ
मुखकमल झुकाये, बन्द भो सूक्तिपात।
म पनि अमृत जस्तो त्यो सबै सच्चरित्र
मनन मन लगाई गर्न थालें पवित्र।।26।।

Canto 8सर्ग 8

यसरी बहँदो घरी घरी
मुनिको शीतल सूक्तिमाधुरी।
बिचमा जति रोकियो उति
दिन थाल्यो नव भावजागृति।।1।।

फराकीलो चौकीउपर बलियो आसन कसी
म रस्तामा बस्ता मनुज, पशु, पक्षी सब खुशी।
थिये, ती झुम्मिन्थे अतुल सुख लिन्थे, प्रणयले
मलाई सुम्पन्थे पल पल शुभाऽऽशी हृदयले।।2।।

मल्हामी आऊन् वा मलिन मुख लायेर मुडुला
बिसाऊन् वा जन्तीहरु वरबधूसाथ सुकिला।
समानै दिन्थें ती उभयकन छाया म तिनको
स्वयं लिन्थें छाया प्रणयसित सम्पूर्ण मनको।।3।।

छुती विद्वान् होस् वा मलिन कुलको मूर्ख अछुती
कुनै त्यागी होस् वा विषयरस रागी लखपति।
समानै ठान्थें ती विधिविहित चैतन्यपुतली
पछी हेर्दा हेर्दै तर हृदय हाँस्थ्यो अलिअलि।।4।।

समै भित्री श्रद्धा, सम अतिथिसत्कारविधि त्यो
समै प्यारो चौकीमय चहकिलो शान्तिनिधि त्यो।
थला मारी झुल्थें म पनि समताकै रहरमा
थियो बढ्दो चढ्दो तर विषमता विश्वभरमा।।5।।

जगद्धात्री देवी प्रकृतिजननीमा विषमता
हुनाले झल्केको भुवनबिच के मिल्छ समता?
भनी मेरो भित्री श्रवणबिच भर्दै सनसनी
हवा दौड्यो, हल्ल्यो फरफर जटामण्डल पनि।।6।।

अलापे पन्छीले प्रणयसँग त्यै राग रसिलो
त्यसैमा दर्शाये शिखरहरुले रङ्ग हँसिलो।
बटोही जो कोही उभयतिर चल्थे तिनि पनि
लपेटेकै देखें उस विषमताले फनफनी।।7।।

घडी झुम्रेझाम्रे मलमलिन ढाक्रे र भरिया
घडी साहू राम्रा सुघर सुर जस्ता शहरिया।
घडी घाँसी ग्वाला, कृषकहरु झुत्रे नगिचमा
थियें साक्षी जस्तो सकल बटुवाको म बिचमा।।8।।

झिकी सुस्केराको बहुत खिरिलो सूत उसमा
उनी माला मोतीसदृश पसिनाको दिवसमा।
मलाई दिन्थे जो पथिकहरु ती बीच पथमा
सबै शोची (षी) लिन्थें म पनि गहना त्यो सुपथमा।।9।।

जती प्यूँथ्यो चौकी गरम पसिना पान्थजनको
उती बढ्थ्यो मेरो हरबखत उत्साह मनको।
म भन्थें तत्कालै पर पर पुर्याईकन भुजा
यता झर्ने चर्का रविकिरण पार्छू सब कुजा।।10।।

कडा राँको जस्ता रविकिरणको ताप फिंजिंदा
कठै बाटोघाटो रिपुमुलुक झैं दुर्गम हुँदा।
उनिन्थे छायामा मनुज, पशु, पक्षी जुन जति
थियो बेग्लाबेग्लै सकल तिनको अद्भुत गति।।11।।

जटाका लट्टामा चपल चिडियाको चहचह
उता त्यो चौकीमा विविध बटुवाको तहबह।
दगुर्थे लोखर्केप्रभृति बिचरा बीचबिचमा
थियो मानू मेला मधुर उस वेला नगिचमा।।12।।

लगाई गालामा करकमल कर्के शिर गरी
बगाई आनन्दी सरस रसियाको रसझरी।
कुनै वेला ग्वाला कृषकहरु बस्ता मिलिजुली
मुटूमा चम्कन्थ्यो चमचम चमत्कारबिजुली।।13।।

कुनै वेला ढाक्रे कृषकहरुलाई हट भनी
हटाई हप्काई तमकसित ताक्तै, छडि पनि।
थला मारी बस्ता चतुर पुरवासी जनहरू
चिरिन्थ्यो यो छाती, किन किन म रुन्थें धुरुधुरु।।14।।

कुनै वेला ढाक्रे कृषकहरुकै आदर गरी
लगी गाग्रीगाग्राहरुबिच मिठो सर्बत भरी।
कहन्थे यो खाऊ, पथजनित गर्मी मथर होस्
म भन्थें त्यो सुन्दा मनुजमति यस्तै स्थिर रहोस्।।15।।

बुढा, पाका, बाला, युवक, अधबैंसे सब जना
बसी त्यो छायामा अलि छिन शुकायेर पसिना।
उठीजाँदा हेरी खुशिसित जटामण्डलतिर
कहन्थे वा भन्थे जुग जुग जियोस् भाग्यशिखर।।16।।

बित्यो एवंरीत्या सकल दिन, सन्ध्यासमय भो
जटामा त्यो सारा रविकिरणधारा विलय भो
धुलोले त्वाँलोले मलिन रवि ढाक्रेमय बनी
गये आगो फुक्ने नियत लिइ अस्ताऽचलमनि।।17।।

उता यौटा ढाक्रे चरम गिरि भन्दा तल झरे
यता त्यो चौकीको वरपरि हजारौं अगि सरे।
चुल्हा लाये, आगो सबतिर जगाये पिलिपिली
जुट्यो दीवालीको घडिभर त मानू झिलिमिली।।18।।

कठै चाँडो चाँडो जठरहरिको पूजन गरी
सिह्रानैमा भारी, हरउपर बर्कोकन धरी।
डुबे ती निद्राको अतुल परमाऽनन्द सुखमा
उठ्यो भारी हेर्छू म भनि घुरणा घुर्र मुखमा।।19।।

नफेरी त्यो, फेरी निमिषभर कोल्टोतक पनि
पला झैं गैहाल्यो थकित तिनको दीर्घ रजनी।
तिखो चुच्चो खाली चटुल कुखुराले चरचरी
चिर्यो त्यो सन्नाटा सकल ऽ:कुखुरीकाँऽ: रव गरी।।20।।

टुट्यो त्यस्ले गर्दा भुवनभरको नीरवपना
गयो गल्दै गल्दै सकल दुनियाँको तम घना।
सबेरैका हावा पनि बहन थाल्यो सिरिसिरी
फुके साना ठाडा अरुणरुचिरेखा मिरिमिरी।।21।।

कुनामा ती रागी दिवसकरको चुम्बन परी
खुशीले मस्केकी सरल धरणीको स्मित सरी।
उज्यालो भै निस्क्यो क्षितिज उस वेला अलिअलि
झिके यौटा दोटा चपल चिडियाले खलबली।।22।।

उषाले बिस्तारै दिवसपतिको पूर्वतिरको
गुलाफी खोपी वा अति चहकिलो केलिघरको।
खुला पारी ढोका, विहगकुल त्यो चञ्चुचपल
प्रभातीको ताना मधुर लिन थाल्यो पलपल।।23।।

हटाई पर्दा त्यो मलिन तमको मङ्गल गरी
छरी रातो रोरीमय चहक राम्रो नट सरी।
उदाये वा आये जब रवि खुला नाट्यघरमा
तमासा अर्कै भो अनि सकल संसारभरमा।।24।।

ठुला अग्ला अग्ला गिरिशिखरका साथ म पनि
त्यसै झल्कें टल्कें रविकिरणले कञ्चन बनी।
चरा मानू नीराजनविषयको कीर्तन गरी
उडे सारा चारा लिन चपल चञ्चूपुट धरी।।25।।

उता जोड्छन् नाता उदयगिरिमा वासरमणि।
यता छोड्छन् ताता सुखशयनको वासरमणी।
उनी बन्छन् आफैं गिरिशिखरका स्वर्णकलश
इनी भन्छन् पारौं अब त जलले पूर्ण कलश।।26।।

नदी बग्थिन् निक्कै पर, तदपि गङ्गे हर हर
म सुन्थें, त्यो सुन्दा हृदयबिच लाग्थ्यो र रहर।
उतै फर्की हेर्थें, जलदसित गर्थें अनुनय
अहो कैले द्यौला मकन तिमि त्यो स्नानसमय?।।27।।

अहो त्यो वेलाको रविकिरणमाला सुनहरी
धरामा झल्कन्थ्यो सलसल बगेको सुन सरी।
थियो मानू वर्षा अमृतरसको शान्तिसुखको
सबैको देखिन्थ्यो धपधप सफा कान्ति मुखको।।28।।

सबै हेर्दा हेर्दै भुवनभर त्यो जागृति ठुलो
हुँदैआयो मेरो सकल हृदयग्रन्थि खुकुलो।
थिये त्यो वेलाका सकल रसिला जीवनघडी
विधाताले अर्कै मकन दिन थाल्यो तर छडी।।29।।

यति भनि तपसीले माथ केही झुकाये
मधुर वचनधारा कण्ठभित्रै लुकाये।
म पनि सकल गर्दै वाक्यको सार सार
पुलुपुलु तपसीको हेर्न थालें मुहार।।30।।

Canto 9सर्ग 9

अलि बेर अडी चल्यो जब
मुनिको मञ्जुल ओष्ठपल्लव।
अनि वाक्यसुधा बह्यो उही
अथवा जीवनको फुक्यो बही।।1।।

ठुला साना लाखौं पथिकहरूका लाखन थरी
चमत्कारी चाला हरबखत आलोकन गरी।
बसेकै वेलामा शिशिर ऋतुको रात्रिबिचमा
लड्यो भोको यौटा अतिथिजन आई नगिचमा।।2।।

न त्यस्ले क्यै खायो, न त पिउन पायो द्रवहरू
न केही बिच्छ्यायो, न त धुनि जगायो हुरुहुरु।
घुँडो मण्टो जोडी विधि अधम हो निर्दय भनी
बितायो वा काट्यो कटकट किटी दन्त रजनी।।3।।

निशाको त्यो कालो तम सकल पोको परि परी
उही निर्धो भोको विकल बटुवामा घर गरी।
मडारिन्थ्यो खेल्थ्यो पल पल उकेल्थ्यो विकलता
थियो उस्को लेखा शरण मृतिमूर्छा, शिथिलता।।4।।

कठै चिल्थो कन्था फगत लिपिटो मात्र हरमा
कलेटीको खस्रो अति मलिन रेखा अधरमा।
गडेका खोपा झैं नयनयुग, आँशू गहभरी
बगेको देखिन्थ्यो, कर चरण काम्थे थरथरी।।5।।

सुख जिभ्रो, घाँटी, हृदयबिच चर्को धडकन
अँध्यारो आकाशै सदृश मुख मालिन्य सदन।
खलाँतीको गर्थ्यो अनुकरण छाती हरघडी
कठै मानू गन्थ्यो कठिनसँग त्यो जीवनघडी।।6।।

क्षुधाको ज्वालाले ज्वलित बिचरो त्यो अतिथिको
अवस्थाले गर्दा लयसमय वा मृत्युतिथिको।
दयाले पग्लन्थ्यो जड अति कडा पत्थर पनि
म शक्थें त्यो सारा सहन कसरी निष्ठुर बनी।।7।।

कठै त्यो दुःखीको उस बखत जो हालत थियो
सबै त्यो यै मेरो विकल मुटुमा बिम्बित भयो।
भयें केही वेलातक म पनि जीवन्मृत सरी
पछी उर्ले मेरो हृदयदहमा तर्कलहरी।।8।।

विधाता माताको स्तनयुगलमा स्तन्यरसको
भरी धारा पैले अनि जनम त्यो दिन्छ शिशुको।
विना खाने दाना धरणितलमा जन्म कसरी
कहाँ कस्ले लेला? कुन कठिनता यो हरि हरि।।9।।

किरा किर्थादेखी मनुज, पशु, पक्षीतक सब
जती जो जन्मन्छन् सकल तिनको योग्यविभव।
धरित्रीको छाती उपर पहिले नै छ खचित
अहो भोकै मर्छन् तदपि किन त्यो दुर्गतिसित?।।10।।

धरित्रीमा भक्ति प्रणय अथवा जाँगर धरी
खनी, खोस्री, जोती, करचरण माटोमय गरी।
निकाली खाये त्यो अमृतमय खाना मिलिजुली
जगत् सारा बन्थ्यो अमर नगरी झैं झिलिमिली।।11।।

धरित्रिको मायाप्रणय नरदेखी कृमितक
सबै जीवाऽऽत्मामा सम छ, उसमा छैन फरक।
उनी खाना दिन्छन् रतिभर कुनै भेद नगरी
सबैलाई पुग्ने किसिमसँग त्यो लाखन थरी।।12।।

सबै प्राणी बाँच्ने किसिमसित खानाहरु दिन
नशक्ने नै होलिन् धरणि जहिले वा जुन दिन।
तुरुन्तै फुट्नेछन् उस बखत कच्चा घट सरी
हजारौं के लाखौं किसिमसित धाँजा परि परी।।13।।

सबैकी साजा छन् धरणि जननी, जीव सकल
उनैका छोरा हुन् हृदयरसमा लुब्ध चपल।
भुली मातानाता अझ सब उनै मालिक बनी
वृथा गर्छन् कोलाहल कलह मेरी भनि भनी।।14।।

भयेकी हुन् कैल्यै जुग जुग कसैकी न धरणी
कसैकी छन् ऐले न त, फिर कसैकी पछि पनि।
वृथा मेरी भन्दै डुबिकन कडा मोहविषमा
उनैको छातीमा सब लय हुँदैछन् निमिषमा।।15।।

गुणी हो, ज्ञानी हो, बहुत चतुरो जाति नरको
सिपालू, उद्योगी, गुरुसदृश यो विश्वभरको।
बुझोस् ता यस्ले त्यो परहितमहामन्त्रमहिमा
दरिन्थ्यो पृथ्वीको ऽ:अमर नगरीऽ: नाम बहिमा।।16।।

कडा, पीरो, मैलो लिइ मतलबी ग्याँस उरमा
बनी अन्धो जस्तो इतर जनको कष्ट पिरमा।
खियेको देख्दा यो चतुर नरजाति प्रतिदिन
कठै मेरा आँशू तरतर बहन्छन् किन किन?।।17।।

हजारौं यै जस्ता मनुज मनमौजीपन धरी
हिँडे वा हिँड्दैछन् सब सरसरी यै पथ गरी।
खुला नै छन् आँखा तर विकट अन्धोपनसित
मित्यारी लायेका अति कठिन कारुण्यरहित।।18।।

बडा बाठा, टाठा, सकल तर बाटोबिच परी
लडेको त्यो भोको पथिकतिर लाटोपन धरी।
हिँडेका छन् त्यस्तो तुजुकसित ठाडो शिर गरी
अहो कस्तो कालो समझ तिनको त्यो हरि हरि।।19।।

गुहे, काला, कौवा, अपढ वनका बन्दर पनि
पर्यो यौटामाथी विधिवश जसै सङ्कट अनि।
धुरिन्छन् दर्शाई प्रबल नमुना बन्धुपनको
अहो त्यस्तो नीचो पतन किन यो मर्त्यमनको?।।20।।

यहाँ चल्ने फिर्ने मनुजहरुको जत्ति हक छ
धरित्रीको छातीउपर यसको उत्ति हक छ।
हर्यो होला कस्ले कसरि बिचमा भाग यसको?
कठै जस्ले गर्दा नरजुनि डुब्यो रङ्गरसको।।21।।

न ता यो अल्छी हो, न त छ यसको अङ्ग विकल
न ज्यादा ढल्केको वय छ, न भिखारी छ शकल।
अहो यस्तो सादा कृषक मिहिनेती कृशबल
लडी भोग्दो होला कुन अधमको कुत्सित छल?।।22।।

न त्यो भन्थ्यो मौरी बनि मह सदा सञ्चय गरूँ
न भन्थ्यो ऐशी भैकन फजुलखर्चीपन धरूँ।
धरित्रीको भित्री विधिनियमले प्राप्य यसको
गुम्यो होला खाना कुन छल परी हाय कसको?।।23।।

कुनै त्यस्तो खाना विन विकल या मूर्छित सरी
कुनै खाना देख्दा अरुचिवश बस्छन् पर सरी।
तमासा यो हो वा विधिनियमको घोर भुल हो?
दुवैको यद्वा त्यो इतर जुनिको कर्मफल हो?।।24।।

गरी खाना जम्बा अरुचिवश त्यो खान नशकी
शुकेका जो जो छन् मनुज तिनले त्यो सब झिकी।
इनै भोका शोकाऽऽकुल गरिबका दीन मुखमा
चढाये बढ्थ्यो कि अभिरुचि कठै खाद्यसुखमा?।।25।।

नहेरी अर्काको मलिन मुख, लोभीपन धरी
समेटी सोहोरी सब खचित पारी घर भरी।
भनी मेरो मेरो कति कति बिते व्याकुल बनी
अहो उस्तै अन्धो अबुझ दुनियाँ यो अझ पनि।।26।।

थियिन् पैले पैले जुन वसुमती जङ्गलमयी
उनैलाई पार्यो मनुजगणले मङ्गलमयी।
कठै जान्दो हो ता नियम परपीडाहरणको
छुटीजान्थ्यो यस्को कठिनतम पीडा मरणको।।27।।

ममा चल्दा चल्दै पल पल इनै तर्कलहरी
उठी काँपी काँपी विकल बटुवा त्यो थरथरी।
कठै पानी ताकी जिनतिन पनेरातिर गयो
मलाई त्यो देख्दा मनुजजुनिमा नै घिन भयो।।28।।

यति भनी तपसीले आँशु फेरी खसाले
विकल मन समेटी केन्द्रमा नै बसाले।
म पनि अति हलुङ्गो हातले अश्रुधारा
पुछिकन चुप लागें, सन्न भो देह सारा।।29।।

Canto 10सर्ग 10

क्षणमात्र रह्यो र त्यो घना
मुनिको मौन समाधिभावना।
अमृतद्रव झैं बनीकन
बहँदै गो फिर कर्णपावन।।1।।

जगत्मा सल्केको निलिकन सबै मानवपना
असन्तोषी दोषी अति विकट त्यो दानवपना।
तिखो काँढो जस्तै बनि उनिन आयो र उरमा
रुँदै बाधा पोखें प्रकृतिजननीका पयरमा।।2।।

हुँदोहो ता खाना फल फुल तथा खाद्य मसित
म दिन्थें त्यो सारा अतिथिजनलाई खुशिसित।
दिने त्यस्तो केही मसित नहुँदा आज सकल
भयो चौबाटाको जनम तप वा वास विफल।।3।।

कि ता माता मेरो सदय मन यो मन्द गरिद्यौ
कि ता याताऽऽयातै पथिकजनको बन्द गरिद्यौ।
विपद् बाधा भोका अतिथिजनको हेर्नसहन
नशक्नाले सल्क्यो जननि मनमा शोकदहन।।4।।

नपाई खाना क्यै उदरगत रुद्राऽनल बली
जलेको देख्दा त्यो गरिबजनको जीवनकलि।
जबर्जस्ती मेरो पनि सब जलेको छ हृदय
त्यसैले यो गर्छू जननि पदमा विन्तिविनय।।5।।

उठोस् आँधीब्यारी लिइ विकट विध्वंस विभव
फुटोस् वज्रद्वारा पटपट गरी मस्तक सब।
जुटोस् चर्को कोलाहलरव, छुटोस् प्राणपवन
म त्यो मेरो बाधा सहन शकुँला, यो त शकिनँ।।6।।

नशक्नाले भोको अतिथिजनको गर्न कदर
वृथा भैगो, गैगो जननि जुनि मेरो, जनि गर।
खुला देख्छू तिम्रो अति अगम भण्डार, उसमा
कमी केको होला? किन मकन पार्यौ सकसमा?।।7।।

पुकारा यो सारा विकल बटुवाखातिर गरी
झकायें चिन्तामा, अलि दिन भयें मूर्छित सरी।
बिलौना माताले पनि सदयतासाथ सुनिछन्
ममाथी चौतर्फी फल र फुलका हार उनिछन्।।8।।

म ब्यूँझें, भेट्टायें चटकमय त्यो खाद्य खचित
भयें त्यस्ले गर्दा अलि दिन त आश्चर्यचकित।
स्वयं शोचें फेरी खुशिसँग हँसीलो मुख गरी
अहो कस्तो लीला? प्रकृतिजननीको हरि हरि।।9।।

अहो त्यो तन्द्रामा कसरि जननीले कुन घरी
गुतायिन् त्यो लम्बा फल र फुलको मञ्जु पगरी?
भनी छामें, थामें लचक ललिताऽऽकार उसको
बग्यो मानू मेरो खलखल कुलो तृप्तिरसको।।10।।

मलाई जो त्यस्तो कठिन तपको त्यो फल मिल्यो
त्यसैले नै मानू जनमभरको सङ्कट निल्यो।
थियो त्यो बेगिन्ती, तदपि सब गिन्ती गरि गरी
मजैमा लर्कायें शिरभर सबै लर्कन सरी।।11।।

बह्यो त्यस्ले गर्दा चमचम सबैतर्फ सुषमा
भयो जान्ने सुन्ने सकल दुनियाँ मुग्ध उसमा।
ठुलासाना नाना थकित बटुवाका नजरको
भयें मानू तारो उस बखत त्यो मार्गभरको।।12।।

थियो पैले मेरो तरुण वय तेसै चहकिलो
जटामा उस्माथी फल र फुलको रौनक ठुलो।
त्यसैले झुम्मिन्थे वर पर सदा दर्शकहरू
नहेरी त्यो शोभा कुन हिँडन शक्थ्यो सुरुसुरु।।13।।

खुशी बढ्दै आयो, दिवसरजनीचक्रचटक
घुमीहाल्यो मानू निमिषमय भै धेर पटक।
झुके लुर्का फुर्का सकल पगरीका तल तल
जम्यो ती जम्बैमा रुचिर रसरेसा टलबल।।14।।

सबै आऊन् पाऊन् कठिन तपको उज्ज्वल फल
नहोस् तेरो मेरो भनि कलह यद्वा खलबल।
म भन्थें, त्यो सारा पटु पवन म्यानेजर बनी
सबैलाई दिन्थ्यो महकमय विज्ञापन पनि।।15।।

चरा, मौरी, कीट, भ्रमर, पुतलीपूर्ण पगरी
भयो, गिर्दा लाग्यो विविध बटुवाका वरिपरि।
खुल्यो मानू मेरो सुखमय सदावर्त, उसमा
भुल्यो हेर्दा हेर्दै सकल दुनियाँ रङ्गरसमा।।16।।

विचारी बिस्तारै अशनरुचि वा भोक सबको
हवा गर्थ्यो सारा उचित बँटवारा विभवको।
म झुल्थें त्यो देखी मनमन बडो गद्गद बनी
तपस्याको राम्रै अब सफल भो साहस भनी।।17।।

सबै आये, खाये, प्रणयसित गाये गुण पनि
रमाये, फैलाये सुयश तपसी धन्य छ भनी।
तपस्याको मेरो अमृतमय चिल्लो घनघटा
फुट्यो, वर्ष्यो, झल्क्यो परम सुखको पावन छटा।।18।।

हवाको नाघी त्यो खटन बँटवारा हठ गरी
जथाभावी डोकाहरुसहित जाबीतक भरी।
बटुल्थे लोभीले जब अधिक खाना अनि पछि
म भन्थें त्यो देखी मनमन घिनाईकन छिछिः।।19।।

जती जो चाहिन्थ्यो जठरहरिको खातिर उति
लिये, खाये पुग्थ्यो, मुफत किन त्यो सञ्चय अति
त्यसैले गर्दामा कति गरिबको भाग हरियो
विधाताको खाताउपर सब त्यो पाप दरियो।।20।।

कठै रित्तो पारीकन सब सदावर्तभवन
हरी सारा साजा पथिकजनको जीवनधन।
लगी त्यस्तो चालासित घर भरी सञ्चय गरी
कुहाई थन्क्याई कसरि शुभ होला? हरि हरि।।21।।

सबै खाये पक्का पिर अपचको पर्दछ कडा
नखाये अर्कैले हरण अथवा गर्छ झगडा।
कठै बाधैबाधा उभयतिर देखिन्छ त पनि
भुलेकै छन् अन्धा मनुजहरु मौरीमय बनी।।22।।

वृथा खाना भन्दा बढि बढि सदा सञ्चय गरी
धनी बन्छौं भन्दै कृपणविधिमा लम्पट परी।
कठै अन्धा लोभी मनुज फिर मौरी दुइ थरी
अशान्तिज्वालामा मुफत किन जल्छन्? हरि हरि।।23।।

जमाई देखाई महजडित चाका र चकला
अभागी मौरीले मनुजहरुमा सञ्चयकला।
शिकायो होला वा मनुजपशुको नक्कल गरी
बन्यो होला दुःखी मुफत मधुमक्खी जुनिभरि।।24।।

न जाने मौरी वा मनुज कुन हो सञ्चयगुरु?
गर्यो होला दुःखी मुफत किन यो झन्झट शुरु?
यही सत्यानाशी कठिन सरुवा रोगवश भै
सडेका छन् लाखौं विकल बिचरा मानिस सबै।।25।।

अहो कस्तो प्यारो अधम सरुवा व्याधि इनको
छुट्यो जस्ले गर्दा स्मरण मनमा रातदिनको।
जती जम्बा गर्छन् उति उति इनैको अवनति
कठै छुट्दा चोला नियतिवश होला कुन गति?।।26।।

यही अन्धो लोभी मनुजपशुबाटै बढि बढी
वृथा जम्बा गर्ने नरकमय विद्याकन पढी।
अत्यासैमा मूसा जुनिभर अँध्यारो विवरमा
गरी चीं चीं मर्छन् मनुजहरुकै खेतघरमा।।27।।

ठगी, चोरी, डाँका, हरकिसिमको झेल, बखडा,
कुटामारी, गाली, कपट, कटुता, वैर, झगडा।
घृणा, ईर्ष्या, हत्याप्रभृति जति छन् दुर्गुण कडा
सबैको मूलैमा अधम सरुवा सञ्चय खडा।।28।।

विधाताले लाखौं अमृतमय दैवी गुण सब
भरेका छन् जस्को मगजबिच, त्यै मानव अब।
फसी तृष्णारूपी विकट सुरसाको वदनमा
गयो देख्दादेख्दै अतिशय नराम्रो पतनमा।।29।।

यही जम्बा गर्ने अधम सरुवा व्याधि विकट
सरोस् वा सल्कोस् ता जलदबिच वा सूर्यनिकट।
धरित्रीको सारा मधुर रसधारा खिंचिकन
पलामा पार्नेछन् भुवन उनले भस्मभवन।।30।।

कठै मौरी, मूसा, मनुज बिचरा सञ्चय गरी
वृथा पाकेका छन् अनलमय चिन्ताबिच परी।
चरामा त्यो पाजी अधम सरुवा रोग नहुँदा
घुमी नाची गर्छन् अमरपुरको कौतुक सदा।।31।।

चराले झैं चारा फगत उदरै माफिक चरी
म भोली खाँला यो भनि बटुलने लोभ नगरी।
बढोस् ता यो बाठो मनुज परकल्याणसुखमा
सदा यस्को पर्थ्यो अमृतरसको स्रोत मुखमा।।32।।

जहाँ जो भेट्टायो, प्रणयसित खायो फलफुल
चुचो बायो, गायो मधुर सुरमा तृप्तिगजल।
अहो त्यस्तो राम्रो विहगकुलको चालचलन
शिकोस् ता यो लोभी मनुज किन हुन्थ्यो र पतन?।।33।।

अबुझ मनुजको यो मर्म वा दर्द खोली
मुनिवर चुप लागे वाक्य अर्को नबोली।
श्रुतियुगबिच बग्दो दिव्य पीयूषधारा
फिर अलि छिनलाई बन्द भो टक्क सारा।।34।।

Canto 11सर्ग 11

भरिलो मुखचन्द्रमाधुरी
धमिल्याई उस तर्कले गरी।
अलि बेर चुपै रहे मुनि
पछि निस्क्यो अनि शीतल ध्वनि।।1।।

कठै यस्तै यस्ता हृदयदहमा तर्कलहरी
चलेकै वेलामा मनुजहरु आई थरिथरी।
लुछे, लाछे, तोडे भरसक सबै लर्कन जति
नराखी त्यो मेरो मधुर पगरीको छतिपति।।2।।

झटारो वा साटो, लगुड, झिँगटी, पत्थर, छडी
ममा जो वर्षाये अबुझ बटुवाले उस घडी।
त्यसैले गर्दा त्यो निरुपम जटामण्डल पनि
बनीहाल्यो मेरो सकल चकनाचूर छुकुनी।।3।।

कुनै ती हल्लन्थे शिर सब थिची झयाँकुसि गरी
कुनै हान्थे, तान्थे, करकिशलयच्छेदन गरी।
कसैले मर्काये भरसक निमोठी परपरी
बिपत्ता भैहाल्यो प्रकृतिकरुणाप्राप्त पगरी।।4।।

म त्यो चौरस्तामा जुन थकित लाखौं पथिकको
सदा माला फेर्थें परम हित वा शान्तिसुखको।
उनैको देख्दा मैउपर सब त्यो बन्दरपना
अली क्यै मैलो भो कठिन तपको सिद्धिसपना।।5।।

लुछेको, लाछेको शिर, सकल काया थिलथिलो
थियो त्यो पिट्टाले, नयनयुगको कान्ति धमिलो।
उदेकायें, हाँसें मनुजजुनिको त्यो पतनमा
पर्यो कालो रेखा अलिकति उदासीन मनमा।।6।।

स्वयं निःस्वार्थी भै विपद अरुकै निम्ति सहने
तपस्वीचोलाको विधिनियम हो शान्त रहने।
यही सम्झी मैले अति कठिन त्यो पीडन सहें
बुझी दैवी लीला सब, बिलखमन्नै परिरहें।।7।।

कठै भोलीपल्टै झटपट उनै मानिस सब
भरी डोकाडालाउपर सब त्यै भोज्यविभव।
त्यहीं आये, थुप्रा क्रमसित लगाये वरिपरि
बसे बाटी हेरी फगत रखवारीकन गरी।।8।।

स्वयं खाना खाने रुचि छ, तर त्यो रोकि त्यसरी
फिँजारी त्यो सारा पथिकहरु डाकी घरिघरी।
गला फारी फारी सब कहन थाले ऽ:किन, किनऽ:
कुनै माने मैले डबल ऽ:किनऽ:को जान्न शकिनँ।।9।।

मगन्ते भोका वा अबुझ बिचरा बालकहरू
मलाई द्यौ भन्दै जब अघि सरेथे सुरुसुरु।
अनी हा हा भैगो, सब कहन थाले ऽ:पर परऽ:
विना पैसा दिन्नौं मुफत किन गर्छौ करकर?।।10।।

सफा सेताराता कमरबिच ताता गरि गरी
दबायेका चक्की जतनसित झिक्तै अघि सरी।
दिनेले त्यो पाये, दिनलिन नशक्ने जनहरू
चले पैसा छैनन्, भनि मन बुझाई लुरुलुरु।।11।।

लिई चक्की त्यस्तो किसिमसित मुट्ठी भर भर
दिई खाना जम्बै जब जब गयेथे घर घर।
अनी सम्झें मैले डबल ऽ:किनऽ:को अर्थ गहिरो
चल्यो जस्ले गर्दा मगजबिचमा गर्र पहिरो।।12।।

अहो पैसा भन्ने कठिन मुहुनीदार चिज त्यो
कहाँ कैले निस्क्यो? कसरि दुनियाँको मन जित्यो?
कठै जस्को लागी अमृतमय त्यस्ता फल पनि
शुकी भोकै आफू, अरुकन दिये ऽ:लौ किनऽ: भनी।।13।।

न टोक्ता टोकिन्छन्, न त छ रस वा स्वाद तिनमा
न ता दिन्छन् प्रज्ञाबल, न त कुनै शान्ति मनमा।
न जाडो हर्छन् ती, न त उदर भर्छन् अलिकति
कठै त्यस्तो श्रद्धासित किन बटुल्छन् बिनसिति।।14।।

बिकम्बा पैसामा श्रम र गुणको गौरव भरी
अहो त्यस्तो कालो विनिमयकला सिर्जन गरी।
खिचातानी गर्दै फगत पसिनाको पल पल
हरे अन्धो लोभी मनुज धसिँदै गो तल तल।।15।।

चमत्कारी प्रज्ञाबलतिर कुनै ख्याल नगरी
कसी त्यस्तो पैसाउपर ममताग्रन्थि त्यसरी।
कहाँ पुग्नेहोला अबुझ जडवादी मनुज यो?
कठै यस्को भित्री नयन किन तेसै धमिलियो?।।16।।

क्षमा, मैत्री, माया, प्रणय, करुणा, शान्ति, शुचिता
सबै स्वाहा पारी पल पल बढाई विषमता।
पियारो यै पैसा अति कठिन हालाहलमय
बनी संसारैको पछि सहज गर्ला कि विलय?।।17।।

जगत्मा पैसाले विनिमयकला खूब सजिलो
भयो भन्दै होला मनुज, तर त्यो छैन सजिलो।
त्यसैले गर्दामा हरकिसिमका सङ्कट कडा
खडा हुन्छन् यद्वा जुग जुग ठुला झेलबखडा।।18।।

नशा जस्तै गाँजा, चरस, अहिफेनाऽऽदि चिजको
विवेकज्योत्स्ना वा मधुर छवि छोप्ने मगजको।
विषालू पैसाले सकल दुनियाँ पागल सरी
बनाई पार्ने भो नरकमय पृथ्वी, हरि हरि।।19।।

जसै यो पैसाको नयनयुगमा जम्दछ फुलो
अनी यस्तो राम्रो सकल जगतै हुन्छ धमिलो।
नमिल्दा क्यै पत्ता वरपर कुनै गम्य पथको
पछारिन्छन् सारा मनुज पिर भोग्दै मुफतको।।20।।

अँध्यारा पैसाको जति जति बढ्यो सञ्चयकला
जगत्मा निर्धाको उति उति कठै शुक्दछ गला।
बिकून् छोराछोरी, स्वयमपि बनोस् दास बिचरो
कठै कल्ले देख्ने उस अबुझको दर्द गहिरो?।।21।।

विधाताले कैले? किन? कसरि? कस्तो कुदिनमा?
विषालू पैसाको अभिरुचि वृथा मर्त्यमनमा।
भर्यो होला कोलाहल कलहको जागृति गरी
बन्यो जस्ले गर्दा मनुज बिचरो दानव सरी।।22।।

बिरामी लोभिन्छन् कुमतिवश जस्तो कुपथमा
दुरुस्तै त्यै ढाँचासित मनुज ती भ्रान्तिपथमा।
भुलेको देख्नाले हरबखत पैसाकन जपी
कठै आँशू मेरा पनि चुहुन थाले तपतपी।।23।।

मुटूमा पैसाको प्रबल मुहुनीमन्त्र ननिको
गड्यो जस्को, उस्को सनक अति सन्कन्छ मनको।
न ता दायाँबायाँ, न तलतिर त्यो हेर्दछ रति
कठै त्यो के देख्थ्यो उस कलुषको दुष्परिणति?।।24।।

कुनै भोका शोकाऽऽकुल विकल काकाकुल सरी
कुनै पोकैपोका लिइ सयल गर्ने जुनिभरी।
अहो कत्रो पैसाजनित जनमा यो विषमता?
यसैमा टिक्ला के जुग जुग कठै यो मनुजता?।।25।।

बली, बाठा, टाठा, मनुजहरु चातुर्यदहमा
जमाई अर्काका गरम पसिना भित्रि तहमा।
डुबी गोता लिन्छन् अबुझहरु गोताकन खपी
क्षुधाको ज्वालामा जनमभर जल्छन् धपधपी।।26।।

अँध्यारा पैसाको अति जटिल जालोबिच परी
झिँगा झैं संसारी मनुज बिचरा भुन्भुन गरी।
मडारिन्छन्, रुन्छन् हरसमय गर्छन् छटपटी
कठै के फुत्कन्थे तर सब तिनी प्राण नछुटी?।।27।।

विषालू पैसाको विकट बढदो व्याधि सरुवा
छिटो सर्दासर्दै भुवनभर सल्कन्छ मरुवा।
बगैंचा ब्रह्माको सब सहज खङ्गार नगरी
कठै तेसै जाला कठिनतम यो व्याधि कसरी?।।28।।

कडा जोशी, दोषी, तमक, हठ वा गर्वगुरुता
अहन्ताको आडम्बर, भडकिलो, दम्भ, कटुता।
सबै हो यै पैसामय जहरको ग्याँस ननिको
हर्यो जस्ले सारै सकल सहसा मर्त्यजुनिको।।29।।

सदा यै पैसाले कठिन हिमले पङ्कज सरी
थिची दैवी सम्पद् गुणमधुरिमा सोत्तर गरी।
लतारेको देख्दा अब भुवन भो सङ्कटमय
भनी बाधा मानी हरबखत यो रुन्छ हृदय।।30।।

भनून् अन्धा लोभी मनुजहरु पैसाकन धन
म सम्झन्छू शा(सा)पै कुटिल विधिको त्यो सनिधन।
कठै जस्का लागी अबुझ दुनियाँ लाखन थरी
विपद् भोगी झुक्छन् हल न चल भै जीवनभरी।।31।।

इनै पैसा उम्ली तमकसित शस्त्राऽस्त्रहरुको
झिकी तीखो जिभ्रो जुग जुग कठै जीवहरुको।
गला काटी तातो रगतकन चाटी लपलपी
अकालैमा कालाऽनल विकट फुक्छन् धपधपी।।32।।

कडा गोला गोली हरकिसिमको बाफ, बिजुली
बनी मैला पैसा मनुजभर पारी खलबली।
उडेका छन्, बाठा मनुजहरु देख्छन् झिलिमिली
सडेका छन् लाटा जन सब शुकी जीवनकलि।।33।।

कठै बाठोटाठो अमर प्रतिभाको निधि सरी
चमत्कारी प्रज्ञाप्रबल नरको जाति यसरी।
नडूबे पैसाको मलिन ममतारूप विषमा
चिरञ्जीवी बन्थ्यो, अभयपद लिन्थ्यो निमिषमा।।34।।

क्षमा, लज्जा, मैत्री प्रभृति गुणको आसन कसी
उसैमाथी आफू अति भडकिलो भैकन बसी।
जगत्मा पैसाले हरतरहका दुर्गुण जति
नचायेको देख्दा हृदय सब भो घायल अति।।35।।

क्रमसित सब यस्तो तुच्छ पैसाप्रधान
मनुजचरितलाई दुःखको नै निधान।
कहिकन तपसीले नेत्र चिम्ले तुरुन्त
हृदयबिच उदायो दिव्य अर्कै वसन्त।।36।।

Canto 12सर्ग 12

कविजी प्रिय शिष्य झैं बनी
कर जोडेर सबै कुरा सुनी।
अलमल्ल थिये अली छिन
फिर बोले तपसी तपोवन।।1।।

धमीलो त्यै पैसाविषयक कडा तर्क मनमा
घुमेकै मौकामा ऋतु पनि घुमे क्यै भुवनमा।
खडा भो वर्षाको समय, फिर त्यो कृष्णरजनी
अँध्यारो औँसीको, घनपटलले गुम्फित पनि।।2।।

न वा आकाशैमा निविड तम उम्रीकन बस्यो
न वा त्यो आकाशै तमजलधिमा गैकन पस्यो।
मसीमा चोबिन् वा प्रकृतिजननीले गगन यो
बिलायो वैषम्यस्थिति, सकल एकाम्मय भयो।।3।।

दुवै आँखा चिम्ली म पनि बहुधा त्यो बखतमा
रहन्थें वा खेल्थें हृदयगत अन्तर्जगतमा।
खुल्यो सुस्तै मेरो पलक, नगिचैमा अलिअलि
कुनै सानू देखें किरणकणिकाको पिलिपिली।।4।।

तमासा यो क्या हो? कुन चटक यो नेत्रपुटमा
पर्यो कस्ले फाल्यो किरणमय झिल्को निकटमा?
भनी हेर्दाहेर्दै निविड तम चिर्दै चरचरी
उडेको भेट्टायें चटुलगति सानू जुनकिरी।।5।।

झिँगा जस्तो सानू तर अति कडा साहस धरी
फुकाई आशाको झलकमय आलोकगठरी।
बढेको देख्दा त्यो निविड तममा निर्भयसित
भयो मेरो भित्री हृदय सब आश्चर्यचकित।।6।।

प्रभाद्वारा बल्दो विपुल रविको मण्डल कहाँ?
सुधावर्षा गर्ने विशद विधुको गौरव कहाँ?
कहाँ त्यो विद्युत्को चहक? फिर तारा ग्रह कहाँ?
कठै त्यस्तो सानू उस जुनकिरीको द्युति कहाँ?।।7।।

पखेटा खुल्दा त्यो क्षणभर हिरा झैं झिलिमिली
नखुल्दा वा अड्दा गहन तमभित्रै इलिलिली।
घडी झिम्क्यो, चम्क्यो चमचम घडी, यै क्रम गरी
हजारौं देखायो चटकमय लीला हरि हरि।।8।।

घडी ठाडै जान्थ्यो तमकसित केही पर पर
घडी त्यो लत्रन्थ्यो शिथिल भइ केही तलतिर।
घडी तेर्छो, बाङ्गो गतिविधि अनेकौं लिइकन
बलैले त्यो गर्थ्यो तमजलधि सम्पूर्ण मथन।।9।।

दुवै आँखा चिम्ली प्रकृति सब त्यो मस्त निदमा
निदायेको साह्रै कठिन डरलाग्दो समयमा।
न जाने त्यो त्यस्तो किसिमसित के खोजन भनी
सिटो बाली घुम्थ्यो निरतिशय उत्साहित बनी।।10।।

थियो त्यो वेलाको जलधिमय कालो तम घना
सिपीको डुङ्गा झैं झलक, धृति, उत्साह बहना।
स्वयं त्यो खेवैया चतुरमति माझी जुनकिरी
न जाने दौडन्थ्यो कुन तट निहारी? हरि हरि।।11।।

जती उस्ले चिर्थ्यो चरचर तमोराशि बिचमा
उती जुट्थ्यो रेखा नपरिकन सारा निमिषमा।
तमासा त्यो देख्दा हृदयबिच लागी कुतकुती
भनें मर्मस्पर्शी वचन उसलाई अलिकति।।12।।

तँ सानै छस् बाबू तर तँसित आलोककणिका
हुनाले क्यै भित्री दिल सकल पारीकन फुका।
दिँदैछस् धक्का त्यो अभयसित दुर्भेद्य तममा
म सम्झन्छू तेरो सफल जुनिको त्यो मधुरिमा।।13।।

हजारौं तैं जस्ता पुरुषहरु पैले पिलिपिली
गरी बढ्दाबढ्दै भुवन सब पारी झिलिमिली।
गये वा जाँदैछन् तँ पनि तिनि झैं कत्ति नडरी
अगाडी बढ्दै जा मलिन तम त्यो भेदन गरी।।14।।

तँ सानू, त्यो सानू किरणकण, सानू गतिविधि
कठै त्यो झन् सानू, निविड तमविच्छेदनविधि।
सबै यो देख्दैछू तदपि मनले भन्छ नडरा
जती शक्छस् कालो गगनपथ आलोकित गरा।।15।।

न देखिन्छन् ऐले दिनमणि, न तारा, ग्रह, शशी
न आँखाले भेट्छन् चपलबिजुली दर्शनखुशी।
अहा त्यो मौकामा पिलिपिलि तँ गर्छस् जतिजति
तँमाथी वर्षन्छन् प्रणयफुल मेरा उतिउति।।16।।

न त्यो तेरो तातो छवि छ रविको झैं अति कडा
न त्यस्मा क्यै देख्छू तुहिनकरको शीतबखडा।
अनौठाको, सानू तर मधुर आलोकगठरी
म हेर्दैछू तेरो पलक नलगाई छक परी।।17।।

फुका बाबू भित्री किरणगठरी त्यो सब फुका
फिँजा त्यो चौतर्फी गगनपथमा, कत्ति नलुका।
धुँदै जा, चिर्दै जा निविड तम, त्यो गर् सब धुजा
हटा मैलो पर्दा, विजयसुखको दुन्दुभि बजा।।18।।

कुनै गर्जोस् कालो घन घनघटा, कत्ति नडरेस्
कुनै धक्का मारोस् पवन, तल लत्रेर नझरेस्।
स्वयं दल्दै मल्दै कठिन पिरबाधा सब भगा
अली चर्को पारी मधुर छविको दीपक जगा।।19।।

खुलायिस् यो मेरो नयन जुन आलोकलवले
म भन्छू त्यै पाओस् झलक दुनियाँमात्र सबले।
सबै आँखा खोलून् समय नगुमाऊन् मुफतमा
तँ झैं बढ्दै जाऊन् अनवरत कर्तव्यपथमा।।20।।

उदाऊन् अस्ताऊन् हरबखत तारा, रवि, शशी
दगुर्छन् बोक्रैमा अबुझ दुनियाँ भित्र नपसी।
प्रभा पर्दो हो ता अलिकति पनी भित्र तिनको
सबैको धोयिन्थ्यो अति मलिन दुर्भाव मनको।।21।।

प्रभाको साथैमा मधुर मुहुनीदार सुर ली
तँ फुक्तै जा भित्री श्रवणबिच चैतन्यमुरली।
सदा अन्धो पारी गहन तमले विश्व ननिलोस्
म भन्छू यस्लाई अमृत पिउने औसर मिलोस्।।22।।

अँध्यारैमा जन्म्यो जुनिभर अँध्यारो पथ गरी
अँध्यारैमा हुर्क्यो, पछि पनि अँध्यारो पथ धरी।
परी अन्धो बैह्रो अबुझ दुनियाँ अन्ध विधिमा
डुबेको देख्दैछू जुग जुग अँध्यारो जलधिमा।।23।।

बिपत्तैमा बग्दो, अति कठिन, बाङ्गो अतिथिको
अँध्यारो यो सारा गुणमय पसारो प्रकृतिको।
उही नीलो कालो जलधिबिच पस्तोछ त्यसरी
तमासा यो कस्तो? अझ नभरिने त्यो हरि हरि।।24।।

कठै कस्ता कस्ता पुरुषहरु लाखौं चहकिला
नजान्नाले भित्री गहन तमको भेदनकला।
जथाभावी खर्ची छवि सकल यै बाह्य पथमा
गये वा अस्ताये उस जलधिभित्रै मुफतमा।।25।।

म त्यो सारा सम्झी फगत करुणाको वश परी
तँलाई क्यै भन्छू, मसित नरिसा है जुनकिरी।
घुमिस्, खेलिस् नाचिस्, गगनबिच झिल्किस्, झिलिझिली
तँ आफैं सम्झी त्यो तर कति पलाको पिलिपिली?।।26।।

म यस्तो भन्दैछू निमिषभरमा दर्दर गरी
हवा साथै वर्ष्यो जल मुशलधारेपन धरी।
खतम् भैगो उस्को पिलिपिलिसँगै जीवनकला
गर्यो उस्ले मेरै शिरबिच कठै दीर्घ सुकला।।27।।

यति भनि तपसीले सूक्तिनिस्यन्द थामे
करकमल उठाई आफनै माथ छामे।
मनमन उनको त्यो सूक्तिमा भक्ति जाग्यो
हृदयगत अँध्यारो गर्वको भूत भाग्यो।।28।।

Canto 13सर्ग 13

पिउँदै रसिलो सुधा सरी
मुनिको भावुक भावमाधुरी।
कवि दङ्ग थिये पला पला
फिर सुस्तै मुनिको खुल्यो गला।।1।।

पर्यो मैलो छाया किन किन उदासीन मनमा
म टोलायें ज्यादा उस जुनकिरीको निधनमा।
बित्यो सुस्तै सुस्तै समय, बटुवाको फिर उही
फुक्यो याताऽऽयातक्रम विषय वा जीवनबही।।2।।

परैदेखी हेर्दै प्रणयसित मेरो मधुरिमा
फराकीलो छायाजडित उस चौकीउपरमा।
ठुला साना लाखौंथरि पथिक थाले बटुलिन
बन्यो मानू चौकी थकित सबको शान्तिसदन।।3।।

झरी, वर्षा, वर्षोपल विकट शीताऽऽतप, हुरी
खनिन्थ्यो, वर्षन्थ्यो सब फगत मेरै शिरभरी।
लिई आडा मेरो पथिक पथको सङ्कट छली
सुबिस्ताई लाखौं किसिमसित गर्थे खलबली।।4।।

गुणी, ज्ञानी, ग्वाला, कुषक, भिखमङ्गा, लखपति
विलासी वैरागी प्रभृति, बहुरङ्गी पथिक ती।
त्यहाँ जो जो बस्थे विविध तिनको भावलहरी
म देख्थें, फन्कन्थे हृदयदहमा तर्कभुमरी।।5।।

कुनै द्यौता जस्ता सुघर, सुकिला बाहिर भने
कलेजामा हेर्दा मलिन फुहरी हेर्न नहुने।
कुनै काला, मैला, मलिन, फुहरी बाहिर भने
मुटू छामी हेर्दा हृदय सहसा गद्गद हुने।।6।।

हजारौं के लाखौं पथिकहरुमा भित्र सुकिला
थिये यौटा दोटा, अरु सकल काला र कुचिला।
कठै रुञ्चे दुःखी हृदय सबको लाखन थरी
दुराशाले गर्दा गरम ऋतुको चातक सरी।।7।।

कसैलाई कोही न अनुभव विश्रान्तिसुखको
कसैको देखिन्थ्यो न त चहकिलो कान्ति मुखको।
जता हेर्यो तृष्णामय विकट ऽ:कालाज्वरऽ: उठी
डढेको छातीमा हरबखत कालो भुटभुटी।।8।।

बिसायौं भन्दैछन् सकल, तर विश्रान्ति तनको
थियो खाली घुम्थ्यो डबल गतिले चक्र मनको।
कठै त्यस्ले गर्दा निमिषभरमा ती जुरुजुरु
उठी चल्थे, लाग्थे सब दश दिशामा लुरुलुरु।।9।।

कुनै बाङ्गो पारी शिर, कमर बाङ्गो गरि कुनै
कुनै खुट्टा बाङ्गो गरि, नजर बाङ्गो गरि कुनै।
उठी बाटो लागे, अरु पथिक आये फिर बसे
नउठ्दै ती अर्कै झटपट पुगे आसन कसे।।10।।

रही एवंरीत्या अटल उस चौकीबिच खडा
सबै याताऽऽयातक्रमविषयको दीर्घ रगडा।
जती हेर्दै जान्थें पथिकजनको आखिर उति
मलाई झल्कन्थ्यो उस मनुजताको अवनति।।11।।

कसैको आँखाले उदरसित भन्थ्योजुनिभरी
झुकी तेरा निम्ती विकट पथ नापूँ म कसरी?
कसैको त्यै आँखासित उदर भन्थ्योअति भयो
तँ लोभीले गर्दा हल न चल मेरो गति भयो।।12।।

कसैको टोपीको मलमलिन घेरो छ शिरमा
ठुटे, चिल्थो भोटो फगत पसिनापूर्ण हरमा।
कहन्थ्यो नाम्लाले जड मगजको हूँ म पगरी
निचोर्दै छू तेरो समझ अथवा ज्ञानगठरी।।13।।

कुनै कालो तृष्णाजलधिबिच घाँटीतक डुबी
लिऊँ यै चोलामा धनधवल कौवेर पदवी।
भनी कौडी कौडीउपर मुटुका रक्तकणिका
झुकायेका देखे दिवसविधु जस्तै अति फिका।।14।।

अनौ वा कोदालो परशुहरु पक्री जुनिभरी
उठेका ठेलाले कठिन बिचरा पत्थर सरी।
कसैका हत्केला मधुर मुहुनीदार मुहर
छुनासाथै भुल्थे सकल जुनिका कष्ट कहर।।15।।

नछोयेका ढुङ्गा प्रभृति अरु खस्रो चिज जति
कसैका हत्केला कमलदल झैं कोमल अति।
बडो बाधा मान्थे मुहर, रुपियाँ छन्छन गनी
उनै भारीबोका गरिबकन ज्याला दिन पनि।।16।।

कडा अड्बेखड्बे बगर, कँटिलो जङ्गलतटी
उकालो, ओह्रालो हिँडिकन फुटेका पटपटी।
कसैका पैताला समझ नभयेको पशु जुनी
भलो भन्थे, गर्थे कठिन खुरको खूब सह्रनी।।17।।

जुता, मोजा यद्वा कठिनतम दोचा जुनिभरी
उनी गुम्स्यायेका क्षणभर धरास्पर्श नगरी।
कसैका पैताला गरम पसिनाले लपलपी
भिजी रुन्थे, जल्थे मनुजमतिदेखी धपधपी।।18।।

कसैका कन्थाको विकट बदबूले हरघडी
झुकी बस्नूपर्थ्यो जिनतिन दुवै नाक पकडी।
कसैले पैह्रेका तरल खुसबूको महकमा
हवा पौडी खेल्थ्यो पल पल खुशीको बहकमा।।19।।

डँडाल्नाको बाङ्गो धनुष, फिर ताँदो खकनको
घना सुस्केरा नै अनवरत टङ्कार धनुको।
बडो भुत्ते बोधो श्रम शर गरी दीन भरिया
शिकारी भै मार्थे जिनतिन कठै भोकचिडिया।।20।।

कुनै छाता ओढी अकडसित ताम्दानबिचमा
बसी पुग्नासाथै सरस उस चौकीनगिचमा।
कहन्थे डोले हो नभन ऽ:अब बस्छौं, गरम भोऽ:
मलाई त्यो सुन्दा उस मनुजतामा शरम भो।।21।।

झिकी बासी सत्तू जठरहरिको पूजन गरूँ
भनी लागे कोही तर पवन आयो हुरुरुरु।
धुलो वैर्यो उस्मा, निमिषभरमा त्यो पनि उड्यो
मलाई मायाले मुटुकन समातेर जकड्यो।।22।।

कुनै थुप्रो खानाउपर पनि खाना थपि थपी
चुसी चाटी टोकी चिजबिज अनेकौं लपलपी।
डकारी खै मेरो मधुर हजमी पाचक भनी
शिशी बट्टा खोजी गजबसित लड्थे कनिकनी।।23।।

कुनै फुस्रा धुस्रा चुटुचुटु जगल्टा र जुटिका
फुटाई पल्टाई चपलगति दुर्भाग्यगुटिका।
टिपी राखी ढुङ्गाउपर सब फोर्थे पटपटी
मलाई त्यो देख्दा हृदयबिच हुन्थ्यो छटपटी।।24।।

तलासेका चिल्ला महक उडने बालहरुमा
कसैको दौडन्थ्यो मन मुदित गर्ने मधुरिमा।
खरानीले गर्दा शिव शिव कसैको शिरभरी
सुनाझाँक्रीको झैं चमक चमकन्थ्यो सुनहरी।।25।।

यताको यो चिल्लो छवि फिर उताको सुनहरी
प्रभा दोटै भिन्नै किसिमसित भिन्नै पथ गरी।
उनै फुस्रा धुस्रा, कृषकहरुका मध्य शिरमा
मडारिन्थ्यो, खेल्थ्यो घुमि घुमि बडो मस्त सुरमा।।26।।

धराको छातीमा तपतप चुहेका अति घना
टिपी मोती जस्ता श्रमजलधिका दिव्य पसिना।
कुनै उन्थे माला जनमभर सौभाग्यसुखको
कुनै भन्थे खोस्यो किन कपटले गाँस मुखको?।।27।।

झुटा साँचा लाखौं विधिसित सबैमाथि सबको
खिचातानी चल्दा फगत पसिनाको विभवको।
अशान्तिज्वालाको घर घर थियो नित्य नचरी
सबैमा दौडन्थ्यो शठ जठर भर्ने थरहरी।।28।।

सबै लोभी, लाल्ची, हृदय सबको शुष्क बगर
सबैको अर्कैमा गरम पसिनामाथि रहर।
कुनै त्यो सन्तोषी पुरुष कहिल्यै भेट्न शकिनँ
नचाहोस् जो ताता मधुर पसिना चप्प पिउन।।29।।

जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका
उती उस्को देखें वजन अथवा मान गह्रुका।
जती जस्ले पोख्यो गरम पसिना भूमितलमा
उती उस्को देखें वजन हलुका मर्त्यकुलमा।।30।।

मुठी, मानू, पाथी गरम पसिना जोसित जति
जुट्यो उस्को झन् झन् डबल दिलको लालच अति।
कठै त्यस्तो बढ्दो विकट सुरसाको वश परी
सुखी हुन्थ्यो अन्धो मनुज कसरी त्यो हरि हरि।।31।।

क्रमसित उस चौकीमध्य विश्रान्तिकारी
थरि थरि बटुवाको चित्र थोरै उतारी।
मुनिवर फिर आफू भैगये सुस्त सुस्त
अचल अति उज्यालो चित्र जस्तै दुरुस्त।।32।।

Canto 14सर्ग 14

अलि बेर पछी तपोधन
तपसीको मुखपद्म पावन।
ढकमक्क भयो पुरा पुरा
चुहिहाले मकरन्द झैं कुरा।।1।।

खिचातानी हेर्दै गरम पसिनाको छक परी
झुकेको मौकामा प्रकृतिजननीले शिरभरी।
गुतायिन् त्यै फेरी फल र फुलको दीर्घ पगरी
जुटे जस्ले गर्दा अतिथि अघि झैं लाखन थरी।।2।।

लुछे, लाछे उस्तै किसिमसित त्यो दीर्घ पगरी
जती जस्ले पायो भरशक लुछ्यो लालच धरी।
म उस्तै नङ्गा भै अबुझ दुनियाँको चलनमा
उदेकायें खाली नलिइ पिर वा दर्द मनमा।।3।।

गरी यै ढाँचाले परहित सदा भक्तिसहित
बिते मेरा सुस्तै विजनपथमा वर्ष बहुत।
भयो फुस्रो धुस्रो तन पनि कडा कालगतिले
सबै लुर्का फुर्का मकन दिन छोडिन् प्रकृतिले।।4।।

म भोग्थें वर्षेनी जुन विभवले चोट अरुका
लुछिन्थें, लाछिन्थें, उहि सब भयो कारण फुका।
छुट्यो लण्ठा, टण्टा, अटल गजधम्मे बनिकन
म लागें एकाकी फगत उहि छायासुख दिन।।5।।

कुनै वेला आये युवक रसिला गोप लहडी
झिके ऐना, लाये तिलक पनि सिन्दूर रगडी।
पुछे औँला मेरो विपुल कटिमा त्यो सिंदुरको
बस्यो रातो धर्सो गुरुसदृश भै मूर्खहरुको।।6।।

चले ग्वाला, ढाक्रे फिर उहि थलामा गइ बस्यो
हिँड्यो ढाक्रे, हिँड्दा अलिकति त्यहाँ चामल खस्यो।
त्यहाँ त्यो सिन्दूराऽक्षत नगिच देख्यो जब अनि
चढायो अर्काले किन किन मलाई फुल पनि।।7।।

जसै त्यो सिन्दूराऽक्षतसहित देख्यो फुल, अनि
रहेछन् द्यौता ई भनिकन झुकायी शिर पनि।
थप्यो रोटी, माला, अबिरहरु अर्को अघि सरी
म द्यौता भैहालें अबुझ बटुवाको जुनिभरी।।8।।

कसैले त्यो देखी प्रणयसित गङ्गाजल दियो
कुनै आयो पञ्चाऽमृतहरु चढायो खुशि भयो।
कसैले श्रीखण्डप्रभृति बढिया चन्दन दियो
ध्वजा टाँगी कोही ऽ:जय जननिऽ: भन्दै घर गयो।।9।।

कुनै राती बस्ता अबुझ बिचरा धूपसहित
झिनू बत्ती बाली विनयसित भन्थे ऽ:गर हितऽ:।
कुनै सत्तू, च्यूरा अलिकति झिकी अर्पण गरी
स्वयं खान्थे, चल्थे हरबखत मेरो भर परी।।10।।

कुनै घुम्थे छर्दै फुल, मकन दायाँतिर गरी
कुनै ढोग्थे पुष्पाऽञ्जलिसहित भेटी पनि धरी।
बढ्यो एवंरीत्या प्रतिदिन ठुलो पूजनकला
पुजारी भै लुट्थे पटु पुरुष नैवेद्य, मसला।।11।।

मलाई यस्तो होस्, पछि म गरुँला पूजन भनी
कुनै थाले गर्न भ्रमवश कठै भाकल पनि।
पुग्यो उस्को इच्छा विधिवश, म दाता हुन गयें
गर्यो पूजा भारी, मुसुमुसु म हाँसेर उभियें।।12।।

कुनै च्याङ्ग्रा, बोका प्रभृति पशु रेट्थे बलि भनी
कसैले टक्र्याये मकन खुकुराका फुल पनि।
कसैले घोप्ट्याये हरकिसिमको मद्य पदमा
म जो देख्दा डुब्थें अति कठिन भित्री विपदमा।।13।।

कसैले भूमे हुन् भनि मकन माने, बलि दिये
कसैले पूजामा विकट वनदैवी पद दिये।
कसैले वाराही भनि हृदयले पूजित भयें
कसैका आँखामा अति जहरिलो नाग म थियें।।14।।

कसैले द्योराली भनिकन ठुलो आदर गरे
कुमारीको श्रद्धा लिइकन कसैले स्तुति गरे।
कसैले हेर्दा त्यै विजन पथको यक्ष म थियें
कसैको लेखामा भय भुटिदिने भैरव भयें।।15।।

हली, घाँसी, ग्वाला, कृषक, भरिया आदि यसरी
सदा पूजा गर्दै चरणतलमा लम्पट परी
पुकारा यो गर्थे ऽ:प्रभु सकल इच्छा सफल होस्ऽ:
म भन्थें बिस्तारै अबुझ तिमिमा आत्मबल होस्।।16।।

सदा यै चालाले अबुझहरु विश्वासवश भै
त्यहाँ लागीहाले विधिसहित पूजा दिन सबै।
म द्यौता, त्यो चौकी विधिविहित देवस्थल भयो
पछी सुस्तै सुस्तै मुलुकभर माहात्म्य फिँजियो।।17।।

कुनै भन्थ्यो साक्षात् मकन इनले दर्शन दियिन्
कुनै भन्थ्यो स्वप्नाबिच नगिच आयिन् र दबियिन्।
कुनै भन्थ्यो मैले कति कति सुनें शब्द इनको
कुनै भन्थ्यो मेरो सब हरिदियिन् कष्ट मनको।।18।।

कुनै भन्थ्यो राती सकल जमिनै बल्दछ अरे
कुनै भन्थ्यो पैले इनिकन नमान्ने सब मरे।
अहो यस्तैयस्ता उपकथन, हल्लाहरु गरी
फसे सारा बोक्रे विधिनियमपट्टी हरि हरि।।19।।

बनी ध्यानी पीताऽम्बर कमरमा टम्म पहिरी
लिई माला, छालाउपर दृढ पद्माऽसन धरी।
जपी जागा गर्थे बुधहरु ठुला जन्तर बुटी
थियो मानू चौकी उस बखतको सिद्धिढुकुटी।।20।।

गयो बढ्दै चढ्दै किन किन ठुलो पूजनकला
मजैमा घन्कन्थे घननन गरी घण्ट, तबला।
अनौठाको आडम्बर उदित भो मर्त्यमनमा
कठै त्यस्सै भाग्यो श्रुतिविहितअध्यात्म वनमा।।21।।

महात्मा भै कोही फगत परनिन्दाकन गरी
म यस्तो हूँ भन्दै श्रवणबिच हालाहल भरी।
बटुल्थे वा लुट्थे हरकिसिमले गुह्य गठरी
कुनै चाबी बस्थे गरम हलुवा, घेवर, पुरी।।22।।

निचोरी निर्धाका रगतपसिना घूस बटुली
ठुलो पूजासामासहित लिइ बोकाहरु बलि।
कुनै पूजा गर्थे ऽ:जननि खुसि होऊऽ: भनिकन
म रुन्थें त्यो देखी मनुजमतिको उग्र पतन।।23।।

क्रमैले त्यो चौकी अतिशय ठुलो तीर्थ गनियो
हजारौं के लाखौं मनुजहरुको भीड उनियो।
अहा त्यो वेलाको अति मधुर मेला रमझम
थियो यौटा भारी चटकमय भाग्योदयसम।।24।।

हजारौं धर्माऽऽत्मा जनहरु तहाँ रातदिवस
बसी गर्थे लाखौं किसिमसँग सद्धर्मबहस।
मलाई जो मान्थे तिनिहरु ठुला आस्तिक थिये
नमान्ने जो जो हुन् तिनिहरु हठी नास्तिक भये।।25।।

अहिंसा अस्तायो, यम, दम, दया, सत्य दलियो
क्षमा, मैत्री भाग्यो, प्रणय, शम, सन्तोष छलियो।
उज्यालो, देखौवा तिलक अति सानू अबिरका
निशाना भैहाल्यो विधिवश कठै धर्मतिरको।।26।।

उदेकाई खाली नलिइ मनमा ग्लानि कटुता
सबै हेर्दाहेर्दै चटकमय त्यो धर्मपटुता।
बितीहाल्यो धेरै समय, जुग अस्तोन्मुख भयो
नगीचैमा आई गहनगति विज्ञान उभियो।।27।।

थियो जस्तो पैले चटकमय त्यो धर्म नकली
जुट्यो उस्तै आई चटकमय विज्ञान नकली।
दुवै लागे ठाडै भिडिन सबको शान्तिविधिमा
म डूबें त्यो देखी अति गहन चिन्ताजलधिमा।।28।।

कहिकन सब त्यस्तो अन्धविश्वासशाली
अबुझ मनुजको त्यो भावनाको प्रणाली।
मन सब तपसीले श्वासका साथ बाँधी
अलि छिन लिन लागे शान्तिशाली समाधि।।29।।

Canto 15सर्ग 15

पिउँदा पिउँदै प्रतिक्षण
मुनिको वाक्यसुधा विलक्षण।
कविको मन त्यो पुग्यो वहाँ
गहिरो नीरवता थियो जहाँ।।1।।

अहो सुन्दासुन्दै अबुझ दुनियाँको रिमिझिमी
अकस्मात् टोल्हायौ कविवर बिचैमा किन तिमी?
तिमी सुन्दै जाऊ विविध घटनाचक्र सब त्यो
जहाँ मेरो धेरै तरुण वय वा जीवन बित्यो।।2।।

थियो त्यो मौकामा उभय जुगको सन्धिसमय
सबैलाई लाग्थ्यो मनमन ठुलो संशय भय।
न जाने के होला भनि सब थिये शङ्कित अति
सबै त्यो कुस्तीको हरबखत हेर्थे परिणति।।3।।

दुवै लड्दालड्दै नियतिवश विज्ञान बलियो
विजेता भै निस्क्यो, स्थविर बिचरो धर्म थलियो।
थिये मैले हेर्दा तिनि उभय निस्सार नकली
विजेताले पायो तर पनि ठुलो नाम सकली।।4।।

कठै त्यस्ले गर्दा कठिन जडवादीपन बढ्यो
कुनाकानी दैवी गुण जति थियो त्यो सब उड्यो।
घुम्यो मेरो माथा, गम अगमतामा बदलियो
बग्यो आँशू, आँखा किन किन बिझायो, धमिलियो।।5।।

कडा बेचैनीले सकल मुटुको चाल जकड्यो
उही आकाशैको पथ नयनले टप्प पकड्यो।
निमेषैमा मानू कठिन पिँजराबाट सहसा
चरो उम्क्यो भोगी जिनतिन अँध्यारो दिनदशा।।6।।

उता हेर्नासाथै अगम नभको नील परिधि
यताको यो बिर्सें उभय जुगको सङ्क्रमविधि।
हवामा बोहोरी विहग सरि ठाडै बहकिँदै
चल्यो माथी मेरो नयन नभमा चक्कर लिंदै।।7।।

पलाको आधामा गगनमय त्यो शून्य नगरी
घुमी फन्का मारी हरकिसिमको कौतुक गरी।
खुसी भै त्यो पन्था विहगकुलको लङ्घन गर्यो
हवाको झोक्कामा जलद उसको सम्मुख पर्यो।।8।।

सफा चिल्लो काठी घनपटल, घोडा पवन भो
लगामैको शोभा चपल बिजुलीमा उदित भो।
चढ्यो त्यो काठीमा, हरतरहका चक्कर कडा
लिँदै दौड्यो, देख्यो क्षणिक सुखका धेर अखडा।।9।।

कतै स्वर्गङ्गाका चपल मसिना सीकर झरी
बतासिन्थे, गर्थे पवनसित हाँस्तै मसखरी।
जहाँ पर्नासाथै रविकिरणमाला सुनहरी
हजारौं निस्कन्थ्यो विशद नभमा रङ्ग चुनरी।।10।।

सुगन्धी कस्तूरीप्रभृति चिजको लेप उरमा
धरी भर्दै मीठो महक उसका यक्षपुरमा।
कतै घुम्थे फिर्थे चपलनयना यक्षयुवति
थियो जस्को लीलामय लचकिलो मञ्जुल गति।।11।।

कतै नामी विद्याधरयुवक विद्या सब शिकी
रसीलो सङ्गीतस्वरमधुरिमा लाखन झिकी।
अगम् ताना लिन्थे गगनतल पारी घुनुनुनु
सुरस्त्रीको गर्थ्यो मुदित मन जस्मा छुनुमुनु।।12।।

कतै नानारङ्गी कुसुमित लताकुञ्जहरुमा
बसी गाना गर्थे अमर कुँवरी मस्त सुरमा।
अहो जस्ले गर्दा मधुर मुहुनीको वरिपरि
मिठो झर्ना झर्थ्यो श्रवण सबको शीतल गरी।।13।।

चढी धागो जस्ता अमृतमय शीता शुकरमा
सुरेलीको साथै ललित झुलनाको रहरमा।
कतै हाँस्तै खेल्दै सुरयुवति भन्थे चह चह
छचल्किन्थ्यो जस्ले प्रणयसुखको शीतल दह।।14।।

कतै खम्बा जस्ता अटल हठिला सिद्ध तपसी
बसी आकाशैमा नियमसित सिद्धाऽऽसन कसी।
डुबेका देखिन्थे अगम परमाऽऽनन्दरसमा
थियो जस्को साह्रै मधुर मुखको शान्तिसुषमा।।15।।

कतै विद्युल्लेखाललित छरिता उन्मद परी
बिखेर्दै चौतर्फी महकमय माधुर्यलहरी।
हवामा पौडन्थे जुन पवनको स्पर्शसुखमा
तपस्वीको पुग्थ्यो जपतप सबै मृत्युमुखमा।।16।।

विमानश्रेणीमा भ्रमणपटु वैमानिकहरू
कतै उड्थे लम्बा सफरसुख भोगी हुरुरुरु।
अहा जस्को छाया ध्वनिमधुरिमाले छक परी
तमासा त्यो हेर्थे तल सकल ठाडो शिर गरी।।17।।

कतै शोभा छर्दै कठिन तपको सिद्धरमणी
लटामा लर्काई सुरकुसुम वा शङ्करमणि।
बहन्थे वा उड्थे सररर निरालम्ब पथमा
चढी ज्यादा तेजी हृदयकृत सङ्कल्परथमा।।18।।

कतै उस्तैउस्ता कुसुमभरले मत्थरगति
वसन्तश्री जस्ता मगनमदिरामस्त युवति।
हठी सिद्धिप्रेमी कठिन तपमा मस्त जनको
तपस्यामा गर्थे नयनशरले घात ननिको।।19।।

कतै लुर्के फुर्के फुल र मुजुरा पल्लव पनि
उनी वन्यश्रीले खचित वनदेवीमय बनी।
मजा मानी गर्थे उपवनविषे किन्नरसुता
लुकामारी साथै हरकिसिमको रङ्गरमिता।।20।।

कता राम्रा रत्नद्युतिमय दिशापालसदन
कतै घुम्थे साक्षात् कुसुमधनुका साथ मदन।
कतै चन्द्रज्योत्स्नाधवल सुरगङ्गानिकटमा
तपस्वी देखिन्थे तपशिखर झैं टम्म तटमा।।21।।

कतै रक्षोभूत प्रभृति गणका बाल वनिता
गला फारी पढ्दै हरचरितका गीत कविता।
निशामा उफ्रन्थे हरतरहको ताण्डव गरी
थियो जस्को केही पर उपर कैलासनगरी।।22।।

तमासा ती खासा उपसुरपुरीका सब थरी
निहारी त्यो भन्दा पनि उपर जाने सुर धरी।
चढ्यो फेरी मेरो नजर नभमा साहस गरी
सबै त्यागी साना कुसुमकलिका षट्पद सरी।।23।।

तडिल्लेखा भन्दा त्वरितगति सङ्कल्परथमा
चढी उड्दाउड्दै अति वितत आलोकपथमा।
पर्यो सामुन्नेमा अति चहकिलो दिव्य नगरी
थियो जो शोभाको निरुपम महासागर सरी।।24।।

त्यहाँ पुग्नासाथै गति शिथिल भैगो नयनको
खुशीको हावाले विकसित भयो भाव मनको।
जता फर्की हेर्यो सुखमय उतै रामरमिता
थियो कस्तो कस्तो प्रथम कविको उच्च कविता।।25।।

विधाताको यद्वा नियतिगतिको लाखन थरी
चमत्कारी लीला सबतिर सदा सूचित गरी।
बनेका बेगिन्ती उस नगरमा रङ्गमहल
मिही ज्योतिर्धारा पलपल उकेल्थे झललल।।26।।

झुलेका इन्द्रेनी सब भवनमा तोरण बनी
ध्वजामा नाचेको चपल बिजुलीको सनसनी।
अटाली वा बुर्जा सब गगनचुम्बी चहकिला
नगीचै देखिन्थे शशधर जहाँबाट धमिला।।27।।

कतै छन् स्वर्गङ्गाजलरचित छाँगा र छहरा
कतै क्रीडावापी, छरछर कतै दीर्घ फुहरा।
कतै अग्ला ज्योतिर्मय मणिशिलाशैल हँसिला
कतै राम्रा राम्रा कुसुमित लताकुञ्ज रसिला।।28।।

हिरा, मोती, पन्ना प्रभृति भरिला रत्नहरुको
प्रभा मात्रै हाली कुसुमरसमा कल्पतरुको।
जमायेको जस्तो उस नगरको अद्भुत छवि
कलम्द्वारा सारा लिन कसरि शक्ला कुन कवि?।।29।।

जरैदेखी हेर्दा जुग जुग जहाँ शून्य छ जरा
जवानीको मात्रै लहलह जहाँ गर्छ लहरा।
जहाँ आँधी, व्याधि, क्षय, जननको छैन शरण
वहाँको को जान्ने अतुल सुखको त्यो विवरण?।।30।।

बगेकी चौतर्फी कलकल सदा शान्तिसरिता
हँसीला बासिन्दा सरल पुतलीतुल्य छरिता।
रसीलो आनन्दी हृदय सब ती पौरहरुको
फुकेको फक्रेको सुरभि फुल झैं कल्पतरुको।।31।।

दया, मैत्री, श्रद्धा, प्रणयरसले शीतल सब
सबैको हिस्सामा अतुल मनचिन्ते छ विभव।
सबै मर्यादा वा विधिनियमको पालन गरी
रमायेका दैवी विषयसुखमा निर्जर सरी।।32।।

न ता शङ्का, सुर्ता, भय, विरहबाधा छ उनमा
न निन्दा, विद्वेष प्रभृति अरु दुर्दोष मनमा।
न देखिन्थ्यो काहीं कटु वचनले दूषित गला
अहा कस्तो राम्रो अमृतमय त्यो जीवनकला।।33।।

त्यहाँको त्यो दैवी गुणमधुरिमाको चहकमा
फसेको यो मेरो नयन मनमोजी बहकमा।
भयो घुम्दाघुम्दै उस बखत आश्चर्यचकित
जसै देख्यो ढोकाउपर कविता निम्नलिखित।।34।।

धरित्रीमा सत्य, श्रम र पसिनाको भर परी
तपस्या जो गर्छन् सरल मनले जीवनभरी।
तिनैको त्यै सत्य, श्रम र पसिनारूप तपको
चिरस्थायी यै हो परिणति उज्यालो गजबको।।35।।

गरी झुट्टा, बाङ्गा, छल, कपट वा जाल बहना
पियेका छन् जस्ले मुफत, अरुका उष्ण पसिना।
यहाँ त्यस्ता दम्भी पुरुष धरणीका धनपति
कुनै छैनन्, ज्यादै तल छ तिनको गर्हित गति।।36।।

पढी त्यो ढोकाको सरल खँदिलो श्लोकयुगल
उदेकाई केही समयतक फेरी तल तल।
म फर्कें, फर्कायें नयन, तर त्यो दिव्य नगरी
रह्यो मेरो भित्री हृदयपटमा चित्रित सरी।।37।।

निरुपम पसिनाका स्वर्गको सार सार
मसँग सब बताई भित्र अर्कै विचार।
लिइ मुनि बनिहाले मौन भावैक धाम
म पनि मनन त्यस्को गर्न लागें तमाम।।38।।

Canto 16सर्ग 16

मुनिबाट सुनेर त्यो सब
पसिनाको परिपाकगौरव।
कवि जाँगरिलो हुँदै गये
अमिरी जीवनमा घृणा लिये।।1।।

यहाँ यै चौकीमा कठिन तपको जीर्ण पगरी
गुती बस्ताबस्तै नियतिवश त्यो दृष्टि त्यसरी।
पुग्यो माथी माथी, विधिनियम हेर्यो, तल झर्यो
पर्यो अर्कै छाया, सकल धमिलो संशय मर्यो।।2।।

चलेथ्यो यो मेरो नयन जसरी त्यै किसिमले
जगत् सारा हेर्दै चरम गिरिपारी रवि चले।
रह्यो केही वेला तुहिनगिरिका उच्च शिरमा
उपर्ना झैं रातो दिवसकरको कान्तिगरिमा।।3।।

चरा, गाई, ग्वाला, कृषकहरु साऽऽनन्द सुरमा
सबै फर्के, लर्क्यो भुवनभर अर्कै मधुरिमा।
निशाले तत्कालै तल तल तमोरूप कबरी
लतारी ताराका कुसुमकलि उन्दै शिरभरी।।4।।

नवीना त्यो श्यामा सरस ललिताऽऽकार रजनी
सबैमाथी गर्थी प्रणयसुखको पूर्ण पजनी।
तमासा त्यो देखी उदयगिरि हाँस्यो अलि अलि
फुक्यो जस्ले गर्दा विषयसुखको मञ्जुल कलि।।5।।

समेटी बिस्तारै मृदुल करले चारु कबरी
निशालाई मानू प्रणयवश आलिङ्गन गरी।
उठे सुस्तै सुस्तै प्रमुदित निशानाथ विमल
बन्यो साह्रै राम्रो गगनमय त्यो रङ्गमहल।।6।।

पखाली ज्योत्स्नाले मुखमलिनता दोष रजनी
भयें राम्री गोरी अब त म भनी गद्गद बनी।
सफा ऐना जस्ता विमल सरमा कान्ति मुखको
झुकी हेर्थी मानू अनुभव लिँदै स्वर्गसुखको।।7।।

बनी चल्दो फिर्दो सरस मुटु जस्तै गगनको
शशी शोभा छर्दै भुवनभर सर्वत्र जुनको।
उदायेका देखी मुदित मुख पारी कुमुदिनी
सबै हाँसे, हाँसी अझ मसुमुसू रम्य रजनी।।8।।

प्रिया रात्री काली, प्रियतम शशी उज्ज्वल अति
अँगाल्दा उस्लाई हृदयबिच, कालो अलिकति।
सरेको हो यद्वा प्रणयसुखको सम्मिलनमा
परेको हो छाया निविड कबरीको वदनमा।।9।।

प्रभाद्वारा गर्दै हृदय दुनियाँको परवश
चढ्यो माथी सुस्तै अमृत चुहुँदो रौप्यकलश।
तमासा त्यो खासा प्रणयसित हेर्दै टुलुटुलु
म थालें वा मेरो हृदय हुन थाल्यो ढुलुमुलु।।10।।

पगालेको चाँदीमय किरणमाला टललल
जटामा बग्नाले अमृतरस छर्दै सललल।
हुँदै जान्थ्यो मेरो स्तुतिवचनमा गद्गद गला
म भन्थें साठी होस् अमृतकरको शीतल कला।।11।।

त्रियामा त्यो श्यामा अमृतकरका दिव्य करमा
बनी धन्या मान्या प्रमदजननी विश्वभरमा।
नराम्री होस् कन्या तर वर गुणी लायक भये
हुनासाथै पाणिग्रहण, उसका दुर्दिन गये।।12।।

थिये साना साना किरणकणिका जो गगनमा
बिपत्ता भो सत्ता सकल तिनको एक छिनमा।
रहे यौटा दोटा पर पर उज्याला अलि अलि
गराये संसारै अमृतकरले नै झिलिमिली।।13।।

चमत्कारी शोभा चमचम सबैतर्फ छरियो
धराको छातीमा अमृतमय माधुर्य भरियो।
विना यस्तै नेता धरणितलमा वा मुलुकमा
प्रजा अन्धो दुःखी कसरि रहला शान्तिसुखमा?।।14।।

ठुलाको सानाको रतिभर कुनै भेद नगरी
स्वयं निःस्वार्थी भै अमृत सबमा शीतल भरी।
उदायेको देख्दा अमृतकर नीलो गगनमा
घुम्यो अर्कै छाया उस बखत मेरा नयनमा।।15।।

बिचैमा लर्केको रजतघट देखी तरतरी
चुहुन्थ्यो वा बग्थ्यो जुन अमृतको शीतल झरी।
खुशीले त्यो प्यूँदै चपचप गरी चञ्चुचपल
चकोरश्रेणीले जुन सब गर्यो पूर्ण सफल।।16।।

जुनेली त्यै शोभामय सुरधुनीमा खलखली
नुहाई वा थापी शिर, अटल भै कत्ति नचली।
भिजायें बिस्तारै मगज, बहुतै शीतल भयें
पछी सुस्तै फेरी नयनयुग माथीतिर दियें।।17।।

विवेकी नेताको नगिच दुनियाँको मन सरी
पुग्यो फेरी आँखा अमृतकरमा खायस धरी।
वहाँ हेर्दाहेर्दै हृदयदहमा लाखन थरी
उठे उत्प्रेक्षाका अति सरल सङ्कल्पलहरी।।18।।

बसी स्वर्गङ्गाको निकट सुरकन्या सब मिली
सफा तेही डल्लो अमृतकरका साबुन दली।
चुहाई चौतर्फी अमृतरसधारा तरतरी
नजाने धुन्थे कि प्रणयसित फोयेर कबरी?।।19।।

जलक्रीडा गर्दा अमर कुँवरीले नगिचमा
फराकीलो नीलो गगनमय चट्टानबिचमा।
फुकाली राखेका सब चहकिला भूषण सरी
थिये झिल्के तारा उस बखत सारा वरिपरि।।20।।

स्वयं गोता मारी अमरतटिनीमा दिनभरी
किनारामा उत्री किरणफुहरामा जल भरी।
पखाल्थे वा मैलो गगन विधुले नत्र कसरी
बहन्थ्यो चौतर्फी अमृतमय त्यो शीतल झरी?।।21।।

बनायो कस्ले त्यो रजतघट? पीयूष उसमा
भर्यो कस्ले? पोत्यो कुन सकसले दिव्य सुषमा?
कहाँ देखी निस्क्यो? उपर उपरै चल्छ कसरी?
कहाँ पुग्ने होला? गगनपथको मङ्गल गरी।।22।।

अघी मात्रै नीलो जुन गहन विस्तीर्ण पथमा
थिये त्यस्तो चर्को दिनमणि निरालम्ब रथमा।
अहो त्यै बाटोमा अमृत चुहुँदो शीतल शशी
चलेका छन ऐले भुवनभर गोरोचन घसी।।23।।

चिसो तातो सोमाऽऽनलमय महादीपक दुई
दुवै हत्केलामा लिइकन कतै डग्न नदिई।
घुमाई को, कस्को हरबखत नीराजनविधि
अहो गर्दो होला मधुर छवि छर्दै निरवधि?।।24।।

अहो पालैपालोसँग रवि शशी नित्य यसरी
घुमी जाँची सारा निमिषभर विश्राम नगरी।
नफोर्दा होउन् ता मलिन तमको उग्र पहरो
कठै के निस्कन्थ्यो छरछर गरी सृष्टिछहरो।।25।।

यती गम्दागम्दै बहुत छिपियो नीरव दिशा
बनी एकैनासे मुदितमुख हाँसे दश दिशा।
हवा मानू सुस्तै अमृतरसका मन्थन गरी
घुस्यो नौनी घस्तै किन किन मुटूमा सरसरी।।26।।

म त्यो प्यूँदाप्यूँदै सुखमय जुनेली रसझरी
डुबेंछू चुर्लुम्मै हृदयदहमा गद्गद परी।
वहाँ पुग्नासाथै ढकमक भयो जीवनकलि
मुटूले भेट्टायो गगनगुरुको रूप सकली।।27।।

बिलायो वा पग्ल्यो तन, पलकमा छङ्ग म भयें
गुरुर्ब्रह्मा भन्दै गुरुचरणमा पस्रन गयें।
म सम्झयो मै मात्रै, गुरुचरण सम्झयो गुरु गुरु
नरोला त्यो वेला कुन अबुझ चेला धुरुधुरु?।।28।।

खुशी भै सामुन्ने वर अभय मुद्राकन धरी
खडा सर्वव्यापी परम गुरुको दर्शन गरी।
घुमायें चौतर्फी नयन तर त्योतर्फ नमिली
भयो मेरो तीखो नयन नयनैमा इलिमिली।।29।।

न ता देखें पर्दा दिवसरजनीको नगिचमा
न ता सन्ध्या, तारा, ग्रह न त धरा सिन्धुबिचमा।
न भास्यो आकाशै, न फिर अवकाशै अलिकति
अहा कस्तो कस्तो अति अगम त्यो व्यापक चिति।।30।।

म त्यो वेला फेरी गुरुचरण सम्झीकन झुकें
झुकें माने सृष्टिस्थितिनियम भन्दा पर लुकें।
कसो भो? के के भो? फगत म थियें गद्गद अति
अहो मैले मेरै उस बखतको सम्झिनँ गति।।31।।

खुशिसँग सब यस्तो शान्तिपीयूषवृष्टि
श्रुतियुगबिच गर्दै टप्प चिम्लेर दृष्टि।
मुनिवर चुप लागे पूर्ण आनन्दसाथ
भुलन शकिनँ मैले भाग्यको त्यो प्रभात।।32।।

Canto 17सर्ग 17

परिपूर्ण पवित्र सुन्दर
मुनिको शान्तिसुधासरोवर।
अलिबेर पछी छचल्कियो
श्रुतिमा शीतलता भरीदियो।।1।।

डुबी एकाम्मे भै अगम परमाऽऽनन्द चितिमा
म उत्रें बिस्तारै अविदित कुनै दीर्घ मितिमा।
खुल्यो थोरै आँखा, हृदय कलनाले फिरिफिरी
हिलायो तत्कालै मृदु पवनले पल्लव सरी।।2।।

उदेकायें केही, मगज तह लायें, पवनको
थमौतीमा ल्यायें गति, कल चलायें वचनको।
घुमायें चौतर्फी नयन, मुसुकायें, अलिकति
सबै देख्दै आयें क्षणिक दुनियाँको परिणति।।3।।

म फेरी टोह्लायें, स्मृतिपथ सबै उज्ज्वल भयो
अँध्यारोमा मानू नियतिवश सूर्योदय भयो।
उताको त्यो भास्यो घन चितिचमत्कार बिपना
यताको यो सारा तप र तपसीजन्म सपना।।4।।

बिलायो निद्रा वा जटिल ममताको घनघटा
मुटूले भेट्टायो बहुत रसिलो जागृतिछटा।
जता लायो आँखा झलमल उतै रामरमिता
अनौठाको भास्यो प्रथम कविको विश्वकविता।।5।।

तिनैपत्रे कापी, कलम तिनचुच्चे, तिन थरी
मसी चोपी बग्दो मधुर तिनधर्के पन भरी।
मिलाई लेखेको क्षरमय सफा अक्षर सब
सबै मर्मस्पर्शी उस कविकलाको अनुभव।।6।।

मिलेका छन् मात्रा लघु गुरु, मिलेको छ विरती
सबै छोटा लामा लयमिलित छन् छन्द अझ ती।
मिलेको शैली त्यो, मिलित पदविन्यास रचना
अमिल्दो निस्कन्थ्यो कसरि उसको काव्यकलना?।।7।।

नयाँ राम्रा राम्रा अगणित अलङ्कार उसमा
पदैपिच्छे बग्दो ध्वनिकृत चमत्कारसुषमा।
चिरस्थायी भावोदय छ भरिलो, छैन कटुता
कठै कस्ले जान्ने प्रथम कविको काव्यपटुता?।।8।।

झरीलो यो लामो तप तप चुहेको मह सरी
चमत्कारी, भारी मधुर, भरिएको रसझरी।
सदा एकैनासे प्रचुर गुण, गाम्भीर्य, गरिमा
नजान्नेका लागी तर अति विषालू मधुरिमा।।9।।

हजारौं के लाखौं रसिक रसिलो जीवनभरी
सबै टण्टा छोडी विविध कविसम्मेलन गरी।
मजा लिन्छौं भन्दै प्रथम कविका काव्यरसको
बिलायेको देखें नबुझिकन क्यै मर्म उसको।।10।।

झुकें केही तेही सकल कविता हेर्न म पनि
चढ्यो हेर्दाहेर्दै मगजबिच उल्टो सनसनी।
फुक्यो त्यस्ले गर्दा कमलफुल झैं फर्र हृदय
उडीहाल्यो कालो मधुकर सरी बन्धविषय।।11।।

उडेथ्यो त्यो कालो भ्रमर उरदेखी जब अनि
रुवा झैं हल्का भो निमिषभरमा जीवन पनि।
बिलायो बिस्तारै विशद बिपनाभित्र सपना
जुटीहाले मानू प्रणयसित गङ्गा र यमुना।।12।।

तिनै ढोका भत्के उस नगरका जीव जसमा
करोडौं सङ्ख्यामा हरबखत रुन्छन् सकसमा।
म छू त्यै चौकीमा, तदपि उस भन्दा पर भयें
थला मारी मारी नउठिकन अर्कै घर गयें।।13।।

त्यहाँ पुग्दासाथै मन मगज राम्रै बदलियो
सदा पीछा गर्दो विकट भयको भूत छलियो।
म सुस्तायें सुस्तै तनविषयको मान, ममता
गयो गल्दै गल्दै, विलय हुन थाल्यो विषमता।।14।।

मर्यो ताल्चा ताल्चाउपर, परनिन्दा पर सर्यो
निराशाले आशाउपर अति खासा घर गर्यो।
तितीक्षाको शिक्षा हृदय लिन लाग्यो हरघडी
गये डुब्दै डुब्दै कठिन सपनाका सब घडी।।15।।

बनी वाञ्छा दासी, मतलब उदासी हुन गयो
दया भै अंखासी, शठ हठ हट्यो वा लय भयो।
चितामा गै चिन्ता, सकल शकियो शोक बिचरो
बिदा माग्यो, भाग्यो द्रुतगति असन्तोष छिचरो।।16।।

हवामा हल्लेको शिमलफुल झैं कर्मगतिमा
रह्यो यद्वा लड्क्यो तन, नयन भो मुग्ध चितिमा।
शुक्यो देख्दादेख्दै अगम गहिरो मोहजलधि
सबै बिर्सीहालें विषयतिरको रोदनविधि।।17।।

म यस्तो, त्यो त्यस्तो, किन? कसरि? भन्ने सब गयो
छ जो जस्तो, उस्तो उस बखत भास्यो, पर भयो।
जहाँ जो देख्यो त्यो कमलदलमाथी जल सरी
अलग्गै बस्ने भो हृदयबिच संसर्ग नगरी।।18।।

यसो भो, यो होला अनि म गरुँला कार्य यसरी
यहाँको यो भन्ने अति गहन सङ्कल्पलहरी।
हराये, बाँकी भो हृदयबिच खाली परहित
फुर्यो पन्था अर्कै बहुत सजिलो पापरहित।।19।।

नसा, मासू, हड्डी, रगतहरुको देहगठरी
सदा, फैर्दै बोक्तै थकित भइ चल्दो जुगभरी।
कठै निर्धो दुब्लो गतरुचि अहङ्कारभरिया
ढल्यो तर्नासाथै रज र तमको दीर्घ दरिया।।20।।

झिटो झाम्टो फाली सकल अघिको रङ्ग बदली
छरीतो भै फुक्तै मधुर परमाऽऽनन्दमुरली।
खडा भो त्यो मेरै अति नगिच भन्दा नगिचमा
ममा मिल्दै आयो विमल जल झैं दूधबिचमा।।21।।

म हाँसें, त्यो हाँस्यो, पर पर सर्यो भेद फरक
डुब्यो त्यै हाँसोमा बहुत जुनिको स्वर्गनरक।
त्यहाँ देखी दोस्रो जडभरतको छाडन गरी
म हाँसेको हाँस्यै अझतक छँदैछू हरि हरि।।22।।

यहाँ जो पृथ्वीमा अबुझहरुका दृष्टिपुटमा
म रुन्चे जस्तो छू, तर उस पिताको निकटमा।
सबै मेरो हाँसो हरबखत पुग्दोछ मुखको
पितालाई मात्रै अनुभव छ यो हास्यसुखको।।23।।

यसरि अगम भित्री भाव वा सच्चरित्र
भनि मुनि अलमस्ती मस्त भै भित्र भित्र।
फिर मुसुमुसु हाँसे, किन्तु भो वाक्य बन्द
कमलबिच निदायो मुग्ध मानू मिलिन्द।।24।।

Canto 18सर्ग 18

हँसिलो मुनिका मुहारको
फिर त्यो सुन्दर सूक्ितहारको।
छविमा मन रङ्गियो अति
पर भाग्यो अरु सम्झने गति।।1।।

ममात्रै हाँसें वा अरु पनि कुनै हास्यरसमा
डुबेका छन्? भन्ने सरल हँसिलो तर्कवशमा।
परी हेरें फेरी सबतिर हँसीलो मुख गरी
सबै हाँसे हाँसोमय भुवन भास्यो हरि हरि।।2।।

विधाता हाँसेको, निमय अझ उस्को हिलिलिली
मजैमा हाँसेको हरकिसिमका रङ्ग बदली।
उता हाँस्तैं निस्क्यो गगनतल नीलो खितितिति
मिहीं उस्को हाँसो बुझन कुन शक्ला सितिमिति?।।3।।

कठै तेही रित्तो गगनतल सिंहासन गरी
नभोगङ्गा हाँसिन् हरतरहका साधन भरी।
उता सुस्तै नीलो गगनपथमा निर्भय पसी
सबै हाँस्तै दौडे ग्रहगण र तारा, रवि, शशी।।4।।

तिनैको त्यै ज्योतिर्मय मधुर हाँसो तल झरी
हँसायो वा हाँस्यो मुसुमुसु उज्यालो सुरपुरी।
यता पृथ्वी हाँसिन् जलधिघट काखीबिच धरी
पनेर्नी जस्ती भै घुमिघुमि लगायेर नचरी।।5।।

निशा हाँसी कालो वसन तमको चट्ट पहिरी
लुकामारी खेल्दै दिनसँग बडो कौतुक गरी।
दगुर्दा गर्मायो दिवस, तर हाँस्यो हिलिलिली
निहारी सन्ध्याको अरुण सुखशय्या मखमली।।6।।

लबर्पांडे कालो तरुण रसिलो बादल पनि
तमासा त्यो देखी हृदयबिच लाग्यो र मुहुनी।
ठुलो खित्का छोडी गगनभर घुम्दै फनफनी
जथाभावी हाँस्यो सबतिर गर्यो आँखमिचनी।।7।।

अहा त्यै वेलामा तरुणघनलीलावश परी
परी जस्ती गोरी चपल बिजुली त्यो अघि सरी।
उसैको छातीमा लुटुपुटु परी निर्भर ढली
मजा मानी मानू प्रणयसित हाँसी हिलिलिली।।8।।

नगीचै त्यै मीठो ध्वनि जलदको साऽऽदर सुनी
लतावृक्षद्वारा प्रणयवश रोमाऽऽञ्चित बनी।
धरा फेरी हाँसिन्, कुसुमरस वा सौरभ घना
थियो मानू सानू मधुर उनको हास्यरचना।।9।।

हवा चाहीं बाठो चटकपटु जादूगर बनी
लुकी निक्कै हाँस्यो, मुसुमुसु हँसायो फुल पनि।
छुट्यो घुम्टी, हाँसे मुदित मुख पारीकन दिशा
कुना लागी मस्के अलिकति लजायेर विदिशा।।10।।

मिहीं सेतो दन्तद्युति तुहिनको दर्शित गरी
सबै हाँसे खोली मुखमय दरी उन्नत गरी।
नदी, नाला, झर्ना सब मधुर खित्कामय थिये
तिनैले त्यो शोभा अझ डबल चर्को गरिदिये।।11।।

जवानी उर्लेका हँसमुख ठिटीतुल्य सब ती
नदी, नाला, झर्ना लिइकन बडो चञ्चल गति।
घुमी नाच्दै कुद्दै अभयसित थाले छिहिलिन
चले हाँस्तै हाँस्तै, जलधिसित भो मस्त मिलन।।12।।

फिँजारी फैलाई प्रबल रसिला बाहुलहरी
अँगाली जम्बै ती तरुण वयले मुग्ध नखरी।
लडी खित्का छोडी जलधि पनि हाँस्यो हिलिलिली
खिंची उस्को पानी रविकिरण हाँसे अझ बली।।13।।

ठुला साना प्राणी, मनुज, पशु, पक्षी, कृमितक
सबै हाँसे, हाँस्यो समयगति खोलेर पलक।
धमीलो भोगाऽऽशा सकलतिर हाँस्यो र सबको
हँसायो चौतर्फी क्षणिक सुखसौन्दर्य भवको।।14।।

चिची, पापा, नाना, बुबु र पुतलीका रहरमा
खुशी मान्दै हाँस्यो चपल शिशु ता मस्त सुरमा।
पिछा लागी उस्को लुकि लुकि गरी आँखमिचनी
जवानी झन् हाँस्यो मुसुमुसु ऽ:म को हूँ चिनऽ: भनी।।15।।

जवानीका साथै प्रिय वरबधूका हृदयको
खिँचातानी हाँस्यो पहिरिकन माला प्रणयको।
हँसायो त्यस्ले झन् मधुर मुख दाम्पत्यसुखको
कठै त्यस्मा हुन्थ्यो मनुज, पशु, पक्षी विमुख को?।।16।।

हँसीलो त्यै भित्री प्रणयसुख थापीकन गुरु
सबै हाँस्तै आये सुखसयलका साधनहरू।
तँ हास्यो, त्यो हाँस्यो, प्रभु, तिमितपाईंहजुरम
सबै हाँस्यो लाखौं थरि विषमताको ऽ:स रि ग मऽ:।।17।।

ठुलो हाँ हाँ साथै विषयममतामा ढलिमली
गरी नाता हाँस्यो रगतपसिनामा मिलिजुली।
तिखा आँखा तर्दै ऽ:तँ तँ र म मऽ: को सम्भ्रम गरी
घुमी झन् झन् हाँस्यो भुवनभरमा भ्रान्तिभुमरी।।18।।

क्षुधा तृष्णा दोटी शरम नभयेका सहचरी
बसी भित्रै हाँसे अनलसित आलिङ्गन गरी।
तिनैको त्यै भित्री प्रणयरस वा तृप्तिसुखमा
भुली हाँस्तै दौड्यो हरकिसिमको खाद्य मुखमा।।19।।

कतै हाँस्यो खाना बहुत रसिलो वा अति मिठो
कतै निल्नै गाह्रो मलिन मडुवाफापरपिठो।
मिठो देख्दा हाँस्यो रुचि रहर वा लालच अति
घृणा, निन्दा हाँस्यो मलिन नमिठोमा खितितिति।।20।।

उता द्यौता हाँसे सब मनुजका पालक बनी
यता हाँसे दुःखी मनुज बिचरा बालक बनी।
बिचैमा त्यो हाँस्यो जिनतिन कठै धर्म बिचरो
धकेल्दै उस्लाई हिलिलिलि गर्यो स्वार्थ छिचरो।।21।।

अँठ्याई अर्काको सहजसुख वा जीवनविधि
सुखी हूँला भन्ने कटु समझले दूषित गिदी।
जथाभावी हाँस्यो हिलिलिलि, कठै सत्य र रियाँ
कुना लागी हाँसे बनिकन बडो खिन्न बनियाँ।।22।।

महत्त्वाकाङ्क्षाको प्रखर छवि हाँस्यो सकलको
प्रतिस्पर्धा हाँस्यो छल, कपटको बुद्धिबलको।
बडो झर्को लाग्दो रगडमय चर्को खलबली
झिकी हाकाहाकी रणरहर हाँस्यो हिलिलिली।।23।।

बली, बाठा, टाठा, कुटिल, कपटी जीवहरुको
चलाकीमा हाँस्यो भय, मरण वा बन्ध अरुको।
खुँडा, भाला, बर्छा, परशु, खुकुरी, नेल, पिँजरा
सबै हाँसे, हाँस्यो हरकिसिमको कष्ट खतरा।।24।।

बनी जाली पक्री प्रकृतिसुखको सुन्दर गला
पुँजी जम्बा गर्ने नियम अथवा सञ्चयकला।
मिहीं खित्का छोडी गजबसित हाँस्यो मनुजमा
जबर्जस्ती हाँस्यो अझ डबल भै त्यो दनुजमा।।25।।

जती भोगाऽऽशाको विकट मुख हाँस्यो खितिखिती
उती हाँस्तै निक्ले किन किन कडा कष्ट फजिती।
यता हाँस्तै निक्ले विविध बढिया वैद्य र बुटी
उता हाँस्यो नङ्गा मरणतिथि साथै भुटभुटी।।26।।

हटाई पैसाले ग्रह, दिनदशा, व्याधि सकल
म भोगूँला धेरै विषयसुख भै पुष्ट सबल।
भनी लाल्चा गर्ने अबुझहरुको दर्पण सरी
जरा हाँस्यो पोती सबतिर सपेती शिरभरी।।27।।

म खाऊँ मै लाऊँ, सुख, सयल वा मोज म गरूँ
म बाचूँ, मै नाचूँ, अरु सब मरून् दुर्बलहरू।
भनी दाह्रा धस्ने अबुझ शठदेखी छक परी
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी।।28।।

सबै मेरो मेरो भनिकन अघी जीवित छँदा
स्वयं हाँस्थ्यो हेरी जुन विभव वा दौलत सदा।
पछी उस्को देखी क्षणिक मनको अन्तिम गति
उही हाँस्यो ऽ:तेरो अब कति छऽ: भन्दै खितिखिति।।29।।

चिताको त्यो ज्वाला धपधप बली अन्तिम गति
सबैको यस्तै हो भनि बहुत हाँस्यो खितिखिति।
धुवाँ हाँस्तै दौड्यो, वितत पथ हाँस्यो गगनको
खरानी झन् हाँस्यो, मुख मलिन पारी पवनको।।30।।

चिताको चौतर्फी करुण बिलनाको वश परी
छिनेको मोतीको लहर सरि आँशू बरबरी।
झरी हाँसे, हाँस्यो विरह बिचरो बन्धुजनको
रुवाबासी साथै हिलिहिलि गर्यो मोह मनको।।31।।

चितामा चित् खाई चटचट गरी देहममता
डढी जाँदा हाँस्यो बहुत खुशि भै खिस्स समता।
लिई खाली सानू स्मरणमय बत्ती पिलिपिली
विधाताको कालो विलयविधि हाँस्यो हिलिहिली।।32।।

दुखी जाँदा हाँस्यो सहजसुख वा शान्ति अभय
सुखी जाँदा हाँस्यो अति कठिन बाधा अनुशय।
दुवैको एकै हो विलय, तर हाँसो फरक भो
कसैको त्यै हाँसो सुरपुर, कसैको नरक भो।।33।।

म हाँसेको, हाँसोमय छ सबको जन्मनिधन
नहाँसेको एकै चिज पनि कुनै भेट्न शकिनँ।
गयो झन् झन् बढ्दै भुवनभर हाँसो निरवधि
जगद्व्यापी हाँस्यो मुसुमुसु चिदाऽऽनन्दजलधि।।34।।

कठै त्यो वेलामा उभय गुरुचेला सँग थियौं
पछी हाँस्ताहाँस्तै विधिवश दुवै बेगल भयौं।
म फर्कें यै चौकीउपर गुरु त्यै पूर्ण पदमा
रहे चित्तै हाँसी अतुल परमाऽऽनन्दमदमा।।35।।

सकल तय गरेका दुःखको दीर्घ रस्ता
मुनिवर अलमस्ती दृष्टिको त्यो अवस्था।
मसित सब बताई रोकियो टक्क फेरि
क्षणभर मुख मेरो स्नेहका साथ हेरी।।36।।

Canto 19सर्ग 19

कवितुल्य बनी गरे खुला
तपसीले जुन काव्यको कला।
मनले सब त्यो गमें पनि
फिर बोले मुसुकाउँदै मुनि।।1।।

अघी देख्नासाथै मकन, सहसा भक्तिरसले
भिजी श्रद्धा राखी करयुगल जोडेर खुशिले।
मलाई सोधेथ्यौ जुन जति कुरा त्यो क्रमसित
सबै छाती खोली कविवर बतायें तिमिसित।।2।।

रहेंछू कस्तो वा कुन किसिमको यो म तपसी
सहेंछु, भोगेंछु कति कति कुरा आसन कसी।
बुझे हौला मेरो कठिन सब त्यो जीवनगति
भये केही बाँकी बुझन, सुन फेरी अलिकति।।3।।

म मात्रै के? मेरा अगणित सबै बान्धव जति
तपस्या यै गर्छन् सहिकन इनै कष्ट फजिती।
धरित्रीमा यस्ता विविध नभये धीर तपसी
खरानी भै उड्थ्यो भुवन अथवा केवल मसी।।4।।

भयेथ्यो यो पैले जुन बखत भूगोलरचना
बसेका हुन् बस्ती उस बखत हाम्रा सब घना।
भनी व्याख्या गर्थे मुदितमुख पुर्खाहरु अघि
बिपत्ता भो जस्को लयजलधिमा जीवन बगी।।5।।

पछी हामी प्यारा विविध उनका सन्तति भयौं
धरामा बिस्तारै क्रमसित सबै फैलिन गयौं।
बढ्यौं डाँडाकाँडातक सकल छोपी अलि दिन
पछी घट्तै आयौं नियतिवश लाग्यो र कुदिन।।6।।

विधाताको हाम्रा उपर करुणागौरव छँदै
धरित्रीमा अन्धो मनुजकुलको जन्म नहुँदै।
बितेका हाम्रा ती शुभ दिवस यद्वा शुभ घडी
थिये मानू भाग्योदयजनित बुट्टा फुलजडी।।7।।

पछी उस्ले अन्धो मनुज जहिले सिर्जन गर्यो
वहाँदेखी हाम्रो सकल कुलमा संशय पर्यो।
घट्यो आयुर्दाको अवधि, भयको सङ्क्रम भयो
कठै हाम्रो हत्या उस मनुजबाटै शुरु भयो।।8।।

खुला यद्वा नाङ्गा विकट पट मैदान छ जहाँ
धरित्रीको छाती अपढ दुनियाँ चिर्दछ जहाँ।
वहाँका बासिन्दा अघि सब उनै बान्धव थिये
जथाभावी जस्को मनुजहरुले जीवन लिये।।9।।

धरा प्यारी छोरी, प्रकृति जननी खास, उनले
दियेका, छोरीका उपर खुशि भै शुद्ध मनले।
थिये नानारङ्गी विविध तपसीरूप गहना
उतार्दा ती सारा मनुज गनियो मूर्ख कमिना।।10।।

सहन्छन् जो बाधा मनुज, उस भन्दा शतगुणा
सही चर्को बाधा जलदसित मागी जलकणा।
धराको वर्षेनी ज्वर मथर गर्ने सब इनै
तपस्वी हुन्, यस्ता सुरअसुर छैनन् अरु कुनै।।11।।

हुरी, आँधीब्यारी, विकट हिमवर्षा र असिना
कडा लूको धक्का, तरतर लगातार पसिना।
सहन्छन् सम्झन्छन् उस कठिनताको परिणति
तपस्वीको एकै व्रत छ दुनियाँको उपकृति।।12।।

सदा त्यो निस्स्वार्थी व्रत नियम थामी अटल भै
रही ठाडै नङ्गा किसिमसँग ती बान्धव सबै।
सहन्छन् जो चर्को तपविषयको कष्ट कसला
कठै उस्को दिन्छन् प्रतिफल करौंती र बसिला।।13।।

गरी कब्जा लोहाउपर उसका शस्त्र ननिका
निकाली त्यैद्वारा तपकुसुमका मञ्जु कलिका।
जथाभावी तोड्दै मनुजकुल सर्वत्र छरियो
अबादीको चारैतिर चहकिलो रङ्ग भरियो।।14।।

त्यही बढ्दो चढ्दो मनुजहरुको रङग्रसमा
गयो डुब्दै डुब्दै विपुल कुलको वृद्धिसुषमा।
रहे बाँकी थोरै, हरकिसिमको छेदनविधि
खडा भो, साथै त्यो नगिच नगिचै मृत्युपरिधि।।15।।

ठुला सोझा सोझा जरठ तपसी बान्धवहरू
कटानीको टाँचा हृदयबिच हेर्दै धुरुधुरु।
रुँदैछन्, ढल्दैछन् उपकरण लाखौं थरि बनी
जगत्को गर्दैछन् हरकिसिमले मङ्गल पनि।।16।।

कसैका देखिन्छन् शिर विकट नङ्गा र मुडुला
कसैका काटिन्छन् कटकट कठै हात डुँडुला।
कसैका ताछिन्छन् कमर, बिचरा रक्तमय छन्
तपस्या त्यो कत्रो? तदपि सब आनन्दमय छन्।।17।।

जटा, मासूछाला सहित हितको जीवन पनि
जथाभावी तोडी, अति कठिन हड्डीतक पिनी।
कसैलाई गर्छन् मनुज खलमा खूब खलल
लिनालाई भित्री कठिन तपको अद्भुत बल।।18।।

यहाँ जो जो बस्छन् घर, महल वा गोठ, झुपडी
कुटी, पाटी, पौवा, मठ, विविध शाला, कचहडी।
सबैमा यै हाम्रो कठिन तपको अन्तिम कला
म देख्दैछू धेरै किसिमसँग त्यो गर्छ सुकला।।19।।

कडा ग्रीष्मज्वाला जुन बखतमा खप्न नशकी
तपस्वी कल्पन्छन् जलदतिर हेरी जल ढुकी।
कठै त्यै वेलामा अझ विकट हालाहल सरी
डढेलाको ज्वाला मनुजहरु दिन्छन् हरि हरि।।20।।

कडा ती कालैका अति कठिन जिभ्रामय तिखा
दगुर्दा बस्तीमा उस बखत दावानलशिखा।
हुँदो होला त्यस्ता अटल तपसीको कुन गति
कठै त्यो हत्याको मनुज कुन सम्झोस् परिणति?।।21।।

हवाले दन्केको उस दहनको त्यो लपलपी
सहन्छन् वर्षेनी तिनिहरु तिनैको हित जपी।
तमासा त्यो देख्छन् मनुज, तर छन् पत्थर सरी
महत्ता को सम्झोस् तप र तपसीको? हरि हरि।।22।।

यती भन्दाभन्दै तरुण तपसीका वदनमा
प्रभा अर्कै दौड्यो, सकल बदले रङ्ग छिनमा।
म हेर्दैछू, सारा तन किरणरेखामय भयो
ठुलो त्यै चौकीको जरठ तरुमा त्यो अलपियो।।23।।

बिहानैको चीसो पवन बहनाले सिरिसिरी
खुल्यो आँखा, देखें सबतिर उज्यालो मिरिमिरी।
उही चौकीमाथी विजन पथको त्यै रुखमनि
रहेंछू त्यै कापी, कलमहरुकै साथ म पनि।।24।।

उदेकायें, फेरी उपरतिर हेरें टुलुटुलु
अहो हेर्दाहेर्दै मन मननमा भो ढुलुमुलु।
बिलायो त्यो कालो सकल अघिको संशयनिशा
रँगायेको देखें तप र तपसीले दश दिशा।।25।।

विजन वितत पन्था धन्य, त्यो वृक्ष धन्य,
उस तरुवरको त्यो फेदको वास धन्य।
अविचल तपसी ती धन्य, त्यो सूक्ति धन्य
सतत मनन उस्को गर्छ जो, त्यो छ धन्य।।26।।